पर्वत, १७ असार– गण्डकी प्रदेशमा (कोभिड–१९) कोरोना भाइरसबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या बुधबार १ हजार भन्दा माथि पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. बिनोदबिन्दु शर्माले बुधबारवार दुई पटक जारी गरेर सङ्क्रमितहरूको कुल सङ्ख्या १ हजार ६ पुगेको जानकारी दिएका छन् ।
दोस्रो पटक जारी गरिएको विज्ञप्ति अनुसार ४ जिल्लाका १४ जनामा सङ्क्रमण रहेको पुष्टि भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका ४४, २९ र २६ वर्ष उमेरका ३ जना पुरुषमा सङ्क्रमण रहेको पाइएको छ । लमजुङको सुन्दरबजार नगरपालिकाका ५५ वर्षीय १ जना पुरुष, राईनाश गाउँपालिकाका २७ वर्षीय १ जना पुरुष, दुधपोखरी गाउँपालिकाका ४२ र ४० वर्ष उमेरका २ जना पुरुष, बेशीशहर नगरपालिकाका २७ र २६ वर्ष उमेरका २ जना पुरुष तथा क्वोलोसाथर गाउँपालिकाका १ जना ३४ वर्षीय पुरुष गरी ७ जनामा सङ्क्रमण देखिएको छ । तनहुँको भानु नगरपालिका घर भई लमजुङमा कार्यरत १ जना ३० वर्षीय र बारा जिल्लाको कोल्हबी घर भई लमजुङमै कार्यरत अर्का १ जना २७ वर्षीय गरी २ जना कर्मचारीमा पनि सङ्क्रमण रहेको पुष्टि डा. शर्माले गरेका छन् । गण्डकी प्रदेश बाहिर उनीहरूको घर भएका कारण गण्डकी प्रदेशका कुल सङ्क्रमितको सङ्ख्यामा उनीहरूको गणना गरिएको छैन। भरतपुर अस्पतालको ल्याबमा गरिएको परीक्षणमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिकाका १ जना ४० वर्षीय पुरुषमा सङ्क्रमण रहेको पुष्टि भएको छ ।
सम्बन्धित जिल्लाका क्वारेनटाइन तथा होम क्वारेनटाइनमा रहेका उनीहरूलाई सम्बन्धित जिल्लाकै आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
बुधबार बिहान जारी गरिएको पहिलो विज्ञप्तिमा नयाँ १७ जनामा सङ्क्रमणको पुष्टि रहेको जानकारी दिइएको थियो । उनीहरू तनहुँको व्यास नगरपालिकाका ३ पुरुष र २ महिला गरी ५ जना, स्याङ्जाको पुतलीबजार नगरपालिकाका १ जना पुरुष, लमजुङको बेसीशहर नगरपालिकाका १ जना पुरुष, मस्र्याङ्दी गाउँपालिकाका १ जना पुरुष तथा मध्यनेपाल नगरपालिकाका १ जना पुरुष गरी ४ जना रहेका थिए । यस्तै कास्कीको मादी गाउँपालिकाका १ जना पुरुष तथा पोखरा महानगरपालिकाका ६ जना पुरुष र १ जना महिला गरी ७ जनामा पनि मङ्गलवार बिहान नै सङ्क्रमण भएको पुष्टि भएको थियो ।
गण्डकी प्रदेशमा कोरोना निको हुनेहरूको सङ्ख्या २ सय ८७ पुगेको छ । पछिल्लो पटक निको भई घर फर्किनेहरूमा बागलुङका ६८ जना, गोरखाका ३ जना र लमजुङका २ जना रहेका छन् । उनीहरूलाई समेबार डिस्चार्ज गरिएको डा. शर्माले बताए ।





