काठमाडौं, २१ असार – पार्टी एकता जोगाउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै केन्द्रिय सदस्यहरुले हस्ताक्षर संकलन सुरु गरेका छन् । अहिलेसम्म एक सय भन्दा बढि केन्द्रिय सदस्यहरुले हस्ताक्षर गरी सकेका छन् ।
पार्टी विभाजनको खतरा बढ्दै गएपछि केन्द्रीय सदस्यहरुले हस्ताक्षर संकलन अभियान चलाएका हुन् । ‘नेकपामा कुनै विषयमा स्थायी कमिटीले निर्णय गरे पनि अनुमोदनका लागि केन्द्रीय कमिटी बोलाउनुपर्छ । निर्णय गर्न सकेन भने पनि केन्द्रीय कमिटीले छलफल गरेर निकास दिनसक्छ’ केन्द्रिय सदस्य ठाकुर गैरेले भने । कुनै पनि मूल्यमा पार्टी विभाजन केन्द्रीय कमिटीलाई स्वीकार्य नहुने भएकाले एकता कायम राख्न पनि हस्ताक्षर अभियान चलाइएको उनले बताए । पार्टी विभाजन गर्न पाईदैन भन्दै उनीहरुले केहिदिनदेखि पार्टी केन्द्रिय कार्यालयमा नै धर्ना दिइरहेका थिए ।
नेकपामा स्थायी कमिटी बैठक चलिरहेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुबै पद छाड्नुपर्ने माग गरेका छन् । तर ओलीले कुनै हालतमा दुबै पद नछाड्ने अडान लिएका छन् । विवाद बढ्दै गएपछि स्थायी कमिटी स्थगित गरेर नेताहरु छलफलमा जुटेका छन् । तर आइतबार साँझसम्म कुनै सहमति जुट्न सकेको छैन ।





