स्याङजा, २४ असार– विद्यालयमा निर्माण गरिएका क्वारेन्टिनलाई विस्थापित गरेर हरिनास गाउँपालिकाले एकिकृत क्वारेन्टिन निर्माण गरेको छ । गाउँपालिकाले भारतलगायत तेश्रो मुलुकबाट आएकाहरुलाई राख्न गाउँपालिकामा रहेका विद्यालयमा क्वारेन्टिन निर्माण गरेको थियो ।
विद्यालयमा क्वारेन्टिन निर्माण गरिएपछि विद्यार्थी, शिक्षकका साथै विद्यालयको नजिक रहेका समुदायमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै गाउँपालिकाले विद्यालयमा निर्माण गरेका क्वारेन्टिनहरु विस्थापित गरेर गाउँपालिकाको खेल मैदान रहेको एकान्त ठाउँमा क्वारेन्टिन निर्माण गरिएको गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले बताए । ‘समुदायमा रहेका विद्यालयहरुमा क्वारेन्टिन निर्माण गर्दा विद्यार्थी र समुदाय नै त्रसित बनेसंगै नकारात्मक प्रभाव नपरोस् भनेर गाउँपालिकाको खेल मैदानमा क्वारेन्टिन गरिएको हो’ अध्यक्ष मानन्धरले भने ।
गाउँपालिकाको कार्यालयसंगै जोडिएको वडा नम्बर ४ स्थित खेल मैदानमा ३० कोठासहित ६० जना क्षमताको क्वारेन्टिन निर्माण गरेर अहिले विदेशबाट आउनेहरुलाई राखिएपछि क्वारेन्टिनमा बस्नेहरुसमेत खुसी भएका छन् । कतारबाट क्वारेन्टिनमा बस्दै आएका चेत प्रसाद सिग्देलले क्वारेन्टिनमा राम्रो ब्यवस्थापन भएकोले खुशी लागेको बताए ।
गाउँपालिकाले १८ वटा विद्यालयमा निर्माण गरिएका क्वारेन्टिनलाई विस्थापित गरेर निर्माण गरिएको सो क्वारेन्टिनमा अहिले १८ जना बस्दै आएका छन् । क्वारेन्टिनमा खानेपानी, छुट्टाछुट्टै नुहाउने धारा, शौचालयका साथै खानपानको राम्रो ब्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।





