पोखरा, २९ असार– विश्व कोराना भाइरसको महामारीमा परेको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्ने भन्दै सरकारले चैत्र ११ गतेदेखि लकडाउनको घोषणा ग¥यो । लकडाउनसँगै सम्पूर्ण कामहरु ठप्प हुन पुगे । अहिले लकडाउन खुकुलिएको छ तर खेल गतिविधि भने ठप्पै छ ।
भनिन्छ, ‘स्वास्थ्यका लागि खेलकुद’ तर खेलकुद राज्यको लागि अनिवार्य आवश्यकता भित्र पर्दैन् । अनिवार्य आवश्यकता भित्र नपर्दा संघीय सरकारले कोभिड–१९ को महामारीकै कारण खेलकुद गतिविधि सञ्चालन नगर्न निर्देशन गर्दैआएको छ । जिल्ला खेलकुद विकास समिति कास्कीले चैतको पहिलोसातादेखि नै पोखरा रंगशालाभित्र कुनै गतिविधि नगर्न सूचना जारी गरेको थियो । लकडाउन गर्नुअघि नै राष्ट्रिय खेलकुद परिषदको निर्देशन अनुसार रंगशालाभित्र कुनै पनि खेलकुद गतिविधि नगर्न जिल्ला खेलकुद विकास समिति कास्कीले सर्वसाधारणको लागि मुख्य प्रवेशद्वारमै सूचना टाँस गरेको थियो ।
सरकारले समूहगत खेलको लागि खेलकुद गतिविधि नगर्न निर्देशन गरेको छ । भीडभाड हुने खेलले कोभिड–१९ को जोखिम बढ्ने सम्भावना देखाउँदै सरकारले खुलाउनेतर्फ ध्यान दिएकै छैन । पोखरामा निजी सवारी साधनदेखि बजार क्षेत्रका पसलहरु खुलेका छन् । लकडाउन खुकुलो भएसँगै बजार तथा सवारी साधन गुड्न र खुल्न थालेका हुन् । सरकारले भीडभाडमा अनिवार्य मास्क प्रयोग र दुई मिटरको सामाजिक दूरी कायम गर्न निर्देशन गरेको छ । सरकारले सबै तिर खुल्ने प्रयास गरिरहँदा खेल क्षेत्रलाई भने प्राथमिकतामा नराखेको छैन । ब्यायाम व्यवसाय संघ कास्की, कास्की वडिविल्डिङ्ग एण्ड फिटनेस संघ, फुटसल व्यवसायी,जुम्बा व्यवसायी कास्कीले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै जिम, जुम्बा, फुटसल सञ्चालन गर्न दिनुपर्ने मागसहित जिल्ला प्रशासन कार्यालय कास्कीमा धर्ना दिएका छन । संघहरुले संयुक्त रुपमा सरकारको ध्यानाकर्षण गराउँदै ९ बुँदे मागसहित आइतबार ज्ञापनपत्र समेत बुझाएका छन् ।
पोखरामा स्पोर्टस् क्याटल सञ्चालन गर्दै आइरहेका पुर्व राष्ट्रिय खेलाडी ईश्वर गुरुङ (चन्द्र) ले ४ महिनादेखि फुटसल तथा जिमहल सञ्चालन गर्न नपाउँदा धैरे खेलाडी तथा सर्वसाधारणलाई मर्का परेको बताए । ‘ कोभिडको कारणले ४ महिनादेखि व्यवसाय ठप्प छ, कर्मचारी छन् ,भाडा तिर्नुपर्छ यतिमात्र होइन जिम र फुटसलमा मानिस फिटनेसको लागि आउने गर्दछ जुन स्वास्थ्यको लागि अपरिहार्य कुरा हो । हामीले सञ्चालन गर्न पाउँनुपर्छ’, उनले भने । युरोपेली देशहरुमा खेल गतिविधि सञ्चालन भएपनि नेपालमा भने नभएको र अब खेल गतिविधि सुचारु गर्नपर्ने उनले बताए । ‘खेलकुदले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । उच्च सतर्कता अपनाउँदै हामी सञ्चालन गर्न सक्छौँ’ उनले भने ।
यस्तै व्यायाम व्यवसायी संघ कास्कीका सचिव बलराम सुवेदीले रोगलेभन्दा पनि भोकले मर्न बाध्य भएको बताए । व्यायम, फुटसल, जुम्बालगायत कार्य खेलकुदमात्र नरहेर मानिसलाई स्वास्थ्य बनाउने माध्यम समेत रहेको बताउँदै सञ्चालनको लागि ९ बुँदे माग सुनुवाई नभए आन्दोलन थप चर्काउने चेतावनी दिए । आफूहरुले उचित मापदण्ड बनाएर खेल गतिविधि सञ्चालन गर्न सक्ने उनले बताए । घर तथा जग्गाको भाडा तथा बंैकको किस्ताको लागि दबाब आएका कारण व्यवसाय सञ्चालन गर्न आवश्यक रहेको उनको भनाई थियो । नेपाल यु–१९ का राष्ट्रिय खेलाडी रन्दिप पौडेलले अब राज्यले प्रशिक्षण समेत सुरु गर्नुपर्ने बताए । ४ महिनादेखि प्रशिक्षण बन्द भएपनि फुटसलमात्र खेलेपनि केही राहत मिल्ने उनले बताए ।





