बागलुङ, ७ साउन – राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव नियुक्तिका लागि बागलुङका लिलबहादुर थापा मगरसहित तीन जनाको नाम सिफारिस गरिएको छ । निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाली राष्ट्रिय महिला भलिबल टिमकी पूर्वकप्तान अञ्जु श्रेष्ठ र भलिबलका संघका पूर्वउपाध्यक्ष तथा नेकपाका केन्द्रीय सदस्य थापा मगरको नाम सिफारिस गरिएको हो ।
गएको वर्षको असारमा प्रधानमन्त्री ओली निकट सिलवालले खेलुकद परिषद्को सदस्यसचिवमा राजनीतिक नियुक्ती पाएका थिए । खेलकुद ऐन लागू भएपछि उनको पद निष्क्रिय हुँदा सिलवालले निवेदन हालेर फेरि सदस्य सचिव बन्न चाहेका छन् । भलिबल संघमा रहेका नेकपाका केन्द्रीय सदस्य थापामगर बागलुङका पूर्व जिविस सभापति हुन् । थापा तत्कालिन एमाओवादीका पोलिटब्यूरो सदस्य थिए ।
पूर्व कप्तान अञ्जुले दुई पटक साग भलिबलमा कास्य पदक जितेकी छिन् । आठौं सागमा कास्य जितेकी उनी १० औं सागमा कास्य जित्दा नेपालको कप्तान थिइन् ।
युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको सिफारिस समितिले सदस्यसचिव पदका लागि आह्वान गरेकोमा २७ जनाले आवेदन दिएका थिए ।मन्त्रालयका सचिव रामप्रसाद थपलिया, परिषद्का पूर्वकर्मचारी रिम रानाभाट र परिषद्को पूर्व बोर्ड सदस्य इन्दिरा निरौला रहेको सिफारिस समितिले आवेदनको अध्ययन गर्दै तीन जनाको नाम सिफारिस गरेको हो ।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ लागू भएसँगै तत्कालिन सदस्यसचिव रमेशकुमार सिलवालको पदक निष्क्रिय भएको थियो । त्यसपछि युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको सिफारिस समितिले परिषद्को सदस्यसचिवका लागि दरखास्त आह्वान गरेको थियो । समितिले निवेदन दिएकहरुको कार्ययोजना अध्ययन गरेर सदस्यसचिव सिफारिस गरेका तीन जनाको नाम मन्त्रालयमा बुधबार नै बुझाएको छ । अब मन्त्रालयले तीनै जनाको नाम मन्त्रिपरिषद्मा पेश गर्नेछ। एक जनालाई मन्त्रिपरिषद्ले खेलुकद परिषद्को सदस्यसचिवमा नियुक्त गर्नेछ ।





