पर्वत, ९ साउन– गण्डकी प्रदेशमा शुक्रवार १० जनामा कोरोना सङ्क्रमण रहेको पुष्टि भएको छ । योसँगै प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या १३ सय ६० पुगेको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवं स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. बिनोदबिन्दु शर्माले यसको पुष्टि गरेका छन् । उनका अनुसार क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा ४ जिल्लाका १० जनामा सङ्क्रमण भएको पुष्टि भएको हो ।
सङ्क्रमितहरू तनहुँको शुक्लागण्डकी नगरपालिकाका ४८ वर्षीय पुरुष, बागलुङको तमानखोला गाउँपालिकाका २७ वर्षीय पुरुष, लमजुङको कोल्हसोथार गाउँपालिकाका २९ वर्षीय पुरुष, बेशीशहर नगरपालिकाका २३ वर्षीय पुरुष र मध्यनेपाल नगरपालिकाका २५ वर्षीय पुरुष रहेका छन् । यस्तै कास्कीको पोखरा महानगरपालिकाका ३५, २३ र ४० वर्ष उमेरका ३ जना पुरुष तथा अन्नपूर्ण गाउँपालिकाका ५५ वर्षीय पुरुष र ५२ बर्सिया महिलामा पनि कोरोनाको पुष्टि भएको छ ।
उनीहरू सबै जनालाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसनहरूमा लैजाने तयारी भइरहेको छ ।




