मौवाखोलामा बनाइएको डाइभर्सन तस्बिर : जिल्ला प्रहरी कार्यालय, धादिङ
धादिङ, ९ साउन – पृथ्वी राजमार्गअन्तर्गत धादिङ र चितवनको सीमामा रहेको मौवा खोलामा डाइभर्सन बनाएपछि शुक्रबारदेखि साना गाडी र मोटरसाइकलहरु चल्न थालेका छन् । ५ दिनअघि आएको बाढीपहिरोले पुल भत्केपछि यातायात ठप्प थियो । बाढीले धादिङतर्फ पुलको ढलानसँग जोडिएको करिब ५ मिटर सडक बगाएको थियो ।
पुलको विकल्पमा तत्कालका लागि ग्याबिन र ढुंगा माटो भरेर साना सवारी साधन र मोटरसाइकल पास गराइएको धादिङका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । शुक्रबार साँझसम्म ठूला गाडीहरु पनि एकतर्फी रुपमा सञ्चालन हुनेगरी सडक मर्मत भइरहेको एसपी रेग्मीले जानकारी दिए । बाढीले पुल भत्काएपछि काठमाडौंतर्फ आउने गाडी मुग्लिनतर्फ नै रोकिएका थिए पनि काठमाडौंबाट गएका गाडी धादिङतर्फ नै रोकिएको थियो ।





