स्याङ्जा, १० साउन- जिल्लाको आँधीखोला गाउँपालिकाले विद्यार्थीहरुलाई एभोकाडो (घ्यूफल ) का विरुवा वितरण गरेको छ । गाउँपालिकाले त्यहाँ रहेका १८ वटा विद्यालयका ६ देखि १२ कक्षासम्मका २ हजार विद्यार्थीलाई घ्यूफलको विरुवा बाँडेको हो । गाउँपालिकाका अध्यक्ष सुधीर पौडेलका अनुसार विद्यार्थीलाई ५ वटा र र विद्यालयलाई पनि ५ वटै गरि १० हजार ७ सय विरुवा बाँडिएको हो ।
अत्याधिक पौष्टिक तत्व पाइने र बजारमा यसको माग धेरै नै रहेकोे एभोकाडो खेतीमा विद्यार्थीलाई आकर्षित गर्ने उद्देश्यले ‘विद्यार्थीलाई उत्पादनसँग जोड्ने कार्यक्रम’ सञ्चालनमा ल्याइएको पनि उनले बताए । विद्यार्थीलाई भविष्यमा आर्थिक रूपले सक्षम बनाउन आजैदेखि व्यावसायिक खेती तर्फ आकर्षित गर्न आफूहरूले जोड दिएको अध्यक्ष पौडेलको भनाई थियो । बिरुवा रोपेको ४ देखि ६ वर्षभित्र उत्पादन दिने भएकोले अहिले रोपेको बिरुवाले कलेज पढ्ने बेलामा विद्यार्थीले आफ्नो कलेज शुल्क आफै तिर्न सकून भन्ने गाउँपालिकाको लक्ष्य रहेको उनले बताए । प्रशस्त भिटामिन, प्रोटिन र चिल्लो पदार्थ पाइने एभोकाडो उच्च रक्तचाप, मधुमेह, मुटु रोगका बिरामीका लागि लाभदायक मानिन्छ । पचास वर्षसम्म उत्पादन दिने एउटा बोटमा वार्षिक २ सय किलोसम्म फल लाग्ने र समुन्द्री सतहदेखि चार सयदेखि एक हजार ७०० मिटर उचाइको पहाडी भूगोलमा हुने एभोकाडोकोे खेती हुन्छ ।




