बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गोरखामा नौलीखोला पहिरोले थुनियो, स्थानीयलाई सुरक्षित ठाउँमा सारियो

गोरखामा नौलीखोला पहिरोले थुनियो, स्थानीयलाई सुरक्षित ठाउँमा सारियो

९-१० घण्टादेखि खोलाले निकास नपाउँदा जमेर ठूलो ताल बनिसकेको छ ।


  • ढोरपाटन संवाददाता
  • साउन १० २०७७, शनिबार

गोरखा, १० साउन – गोरखाको धार्चे गाउँपालिका–७ मा पहिरो जाँदा स्थानीय नौलीखोला थुनिएको छ । लापुस्थित मापुडाँडामा गएको पहिरोले शुक्रबार रातिदेखि खोला थुनिएको हो । ‘९–१० घण्टा भयो, पहिरो गएर नौलीखोला थुनिएको छ,’ स्थानीय वीर गुरुङले भने, ‘पानी बग्न नपाएर ताल बनिसक्यो ।’ मापुमा डाँडा नै भासिएको र पहिरो जाने क्रम शनिबार बिहानसम्म पनि नरोकिएको उनले बताए । पहिरो गएको क्षेत्रभन्दा तलपट्टि रहेका नौलीखोला, नयाँबस्तीदेखि झरनासम्मका स्थानीयलाई अहिले सुरक्षित ठाउँमा सारिसकिएको छ ।
करिब ७० घरधुरी जोखिममा रहेको गुरुङले जानकारी दिए । खोलानजिकैको गाउँका स्थानीय सुरक्षित ठाउँमा सरिसकेको र जोखिममा रहेका अरू बस्ती पनि सर्ने क्रममा रहेको वडाध्यक्ष सूर्यमान गुरुङले बताए । ‘पहिरो जाँदा ठूलो ढुंगा खसेर खोलामा बसेछ, अनि पानीले निकास पाएन,’ उनले भने, ‘ताल झन्–झन् ठूलो हुँदै छ ।’
खोला थुनिएपछि उक्त क्षेत्रमा अहिले पैदल आउजाउ पनि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । नेपाली सेना र नेपाल प्रहरीसहितको टोली घटनास्थल पठाइएको उनले जानकारी दिए । ‘सुरक्षा टोली जाँदै छन्, त्यहाँको अवस्था हेरेपछि कसरी खोल्न सकिन्छ त्यहीअनुसार हामी अघि बढ्छौ,’ उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->