बागलुङ, ११ साउन– बागलुङ नगरपालिका वडा नं. १ स्थित रामरेखा सामुदायीक वनक्षेत्रमा शनिबार भीषण पहिरो गएको छ । बागलुङ–पोखरा राजमार्गको गणेश घुम्तीदेखि निरहेघाट जाने बाटोको बिचमा खसेको पहिरोले नम्बर नखुलेको एक स्काभेटर, ध १ त ४०७ नम्बरको एक ट्याक्टर र ध १ख ४६३७ नम्बर एक ट्रिपर पुरिएको प्रहरी निरिक्षक दिपक रिजालले जानकारी दिए । उक्त सडकमा बाटोमा बिछ्याउने सामग्री झिक्ने क्रममा पहिरो खसेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

ट्याक्टर र टिपरका चालक सम्पर्कविहिन छन् । रिजालका अनुसार, मानवीय हताहतीसमेत भएको हुनसक्ने अनुमान गरिएको छ । स्काभेटरका चालक भने सम्पर्कमा आएको उनले बताए । पहिरोमा हराईरहेकाहरुको आइतबार बिहानदेखि खोजीकार्य गरिने प्रहरी निरीक्षक रिजालले जानकारी दिएका छन् । पुरिएको स्काभेटर निर्माण व्यवसायी विमलेस आचार्य र टिपर पर्वतका हरि घिमिरेको भएको बताइएको छ ।

पहिरो गएपछि शनिवार राती अबेरसम्म जिल्ला विपद व्यवस्थापन समिति, प्रहरी र स्थानीयको सहयोगमा उद्धारको प्रयास भएको थियो । सुख्खा पहिरोका कारण रातको समयमा नजिकमा जान सक्ने अवस्था नरहेको रिजालले बताए । स्काभेटरमा चालक मात्रै रहेको भएपनि ट्याक्टर र टिपरमा चालक मात्रै थिए वा अरु कोही थिए भन्ने विषयमा जानकारी प्राप्त भैरहेको छैन् । ट्याक्टर र टिपरका चालकहरुको मोवाईल फोनमा भने फोनको घण्टि बज्ने तर रिसिव नभएको रिजालले बताए । प्रहरी सहितको उद्धार टोलिले शनिवार राति अवेरसम्म उद्धारको प्रयास गरेको थियो ।













