काठमाडौं, १४ साउन– आज बुधबार नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय बाघ दिवस मनाईँदै छ । हरेक वर्ष जुलाई २९ मा बाघ दिवस मनाईन्छ । विश्वबाट घट्दै गएका वा लोप हुने खतरामा पुगेका बाघको संरक्षणमा सहयोग र्पयाउने उद्देश्यले रहेक वर्ष दिवस मनाईन्छ । यो वर्षको नारा ‘स्वस्थ वातावरणका लागि बाघ संरक्षण’ रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी उप–सचिव विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।
यो वर्ष कोरोना भाइरसको महामारीका कारण सार्वजनिक रुपमा कमै कार्यक्रम हुँदै छन् । बाघका लागि नेपाल महत्वपूर्ण क्षेत्र हो । यहाँ दुर्लभ प्रजातिको पाटे बाघ पनि पाइन्छ । विश्वमा अहिले झण्डै साढे तीन हजारको हाराहारीमा बाघ रहेका छन् । सन् २०१८ मा भएको बाघ गणनामा नेपालमा बाघको संख्या २३५ पुगेको पाइएको छ । विश्वका १३ वटा देशमा पाटेबाघ पाइन्छ । नौ प्रजातिमध्ये तीन प्रजाति लोप भइसकेका छन् ।
नेपालमा पाइने पाटे बाघ भारत, भुटान र बंगलादेशमा मात्रै पाइने गरेको विज्ञहरु बताउँछन् । विश्वमा ७० वर्षअघि एक लाखको हाराहारीमा रहेको बाघ सन् २०१० सम्म आइपुग्दा तीन हजारमा झरेपछि दोब्बर बनाउन पहल थालिएको हो । नेपालमा आउँदो सन् २०२२ मा पुनः बाघ गणना हुनेछ । त्यस बेला बाघको संख्या २५० प¥याउने लक्ष्य रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।





