म्याग्दी, १८ साउन – हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा अवस्थित बेनी अस्पतालमा आइतवारदेखि निशुःक डायलासिस सेवा शुरु भएको छ ।
जिल्लामा नै निःशुल्क डायलासिस सेवा शुरु भएपछि म्याग्दीका मृगौला पीडितले नियमित डायलासिस गर्न जिल्ला बाहिरका सरकारी र निजी अस्पतालमा महँगो रकम तिर्नुपर्ने बाध्यताको पनि अन्त्य भएको छ ।
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले बेनी अस्पताललाई डायलासिसका लागि आवश्यक उपकरण सहित तालिम प्राप्त चिकित्सकको व्यवस्था गरेर सेवा शुरु गरेको हो ।
आइतबार दुई मृगौला पीडितले सेवा लिएका छन् । गण्डकी प्रदेशले उपलब्ध गराएको ४ वडा मेसिन र प्रवासी म्याग्देलीले दिएको दुईवटा मेसिन रहेको अस्पतालमा हेमोडायलासिस युनिटको सेवा शुभारम्भ भएको बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कुटवालले बताए ।
यूनिटमा २ चिकित्सक, ४ जना स्टाफ नर्स कार्यरत छन् । डायलासिस युनिटलाई प्रभावकारी बनाउन आवश्यक पूर्वाधार तथा ब्यवस्थापनमा गण्डकी प्रदेश सरकारबाट प्राप्त बजेट बाहेक अस्पतालको आन्तरिक स्रोतलाई समेत परिचालन गरिएको छ । पहिलो चरणमा ३ वटा बेड सञ्चालन गरिएको छ ।
एकदिनमा ६ जना बिरामीले सेवा लिन सक्नेछन् । ६ वटा मेसिनबाट दुई सिफ्ट मात्रै १२ जना बिरामीलाई दैनिक सेवा दिन सकिने भएपनि तत्काल दुईवटा पुरानो मेसिन भएकाले सञ्चालनका लागि केही उपकरणको अभाव रहेको बेनी अस्पतालका प्रमुख डा.अमृत अधिकारीले बताए ।
जिल्लामै डायलासिस सेवा आउने भएपछि हालसम्म १५ जना सम्पर्कमा छन्। डा. अधिकारीका अनुसार परीक्षण सेवाको रुपमा केहीदिन सञ्चालन गरिने र औपचारिक उद्घाटन गरी सेवालाई थप प्रभावकारी बनाउने बताए ।





