स्याङ्जा, २९ साउन – स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्री विवादमा तानिएका छन् । वडा प्रहरी कार्यालय वालिङको हिरासतमा रहेका दुई युवालाई रातारात छोड्न आदेश दिएपछि प्रमुख जिल्ला अधिकारी विवादमा तानिएका हुन् ।
साउन २६ गते राति वालिङमा भएको कुटपिट घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका चापाकोट नगरपालिकाका दुई युवा सुनिल एस्के र प्रदिप गिरीलाई बुधबार सार्वजनीक मुद्धामा जाहेरी दर्ता गरिएको र राति उनीहरुलाई वडा प्रहरी कार्यालयले छाडेपछि जिल्लामा प्रहरी प्रशासन र प्रमुख जिल्ला अधिकारीको चर्काे बिरोध भएको छ ।
जिल्लामा कुटपिटको घटनालाई लिएर विवाद बढ्दै गएपछि जिल्लाको शान्ति सुरक्षाको अवस्थाका बारेमा बुझ्न जिल्ला प्रशासन कार्यालय गएका पत्रकारहरुसंग समेत प्रमुख जिल्ला अधिकारीले भेटन नचाहेपछि पत्रकारहरु लामो समयको पर्खाइपछि भेट नगरि फर्किएका छन् ।
चापाकोट नगरालिकाका तीन युवा र वालिङ नगरपालिकाका एक युवा विच भएको विवादमा कुटाकुट भएपछि घटनाका बारेमा जिल्ला प्रशासन कार्यालय स्याङ्जामा भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस विच घटनामा संलग्न सबैलाई मुद्धा चलाउने सहमति भए पनि प्रमुख जिल्ला अधिकारी क्षेत्रीले एकाएक हिरासतमा रहेका युवाहरुलाई छाड्ने आदेश दिनुले आफु अचम्मा परेको नेकपाका जिल्ला अध्यक्ष सुर्यप्रसाद गैरे (पारस)ले बताए । गैरेले भने घटनामा घाईते भएका युवाको पोखरामा उपचार भइरहेको समयमा जिल्ला प्रशासन कार्यालयमा भएको सहमति बिपरित हिरासतमा रहेका युवा छाड्ने आदेश दिनुले शंका उत्पन्न भएको बताए ।
वालिङ नगरपालिका ८ डुम्रीकोटमा चापाकोट नगरपालिकाका नगरप्रमसख शिवकुमार गिरी संगै आएका तीन युवा र वालिङका एक युवा बिच भएको विवादमा चापाकोटका युवाहरुले कुटपिट गर्दा वालिङ नगरपालिका ९ का जितेन गुरुङ घाईते भएका छन् । चापाकोट नगरपालिकाका नगर प्रमुख गिरीका स्वकिय सचिव राजकुमार मल्ल, सवारी चालक सुनिल एस्के र प्रदिप गिरीले कुटपिट गरेर घाईते बनाएको भन्दै कुटपिटमा परेर गम्भिर घाईते भएर पोखराको गण्डकी मेडिकल कलेजमा उपचार गराईरहेका जितेन गुरुङका आफन्तले वडा प्रहरी कार्यालय वालिङमा जाहेरी दिएका छन् भने घाईते गुरुङको आँखा, नाक र निधारमा चोट लागेको पारिवारीक स्रोतलेजनाएको छ । घटनामा एक पक्षले अर्कोलाई आरोप लगाएका छन् ।




