बागलुङ, ५ भदौ – बागलुङका दुई पालिकामा निषेधाज्ञा जारी गरेपछि जिल्लाभर नै सवारी साधान र स्थानीय आवतजावतमा वन्द भएको छ । तीज पर्व लगायतका चाडवाडका कारण मानिसहरुको भीडभाड हुने र यसले समुदायमा कोरोना संक्रमण फैलिन सक्ने भन्दै बडिगाड गाउँपालिका र बागलुङ नगरपालिकामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि यहाँका १० वटै स्थानीय तह सुनसान भएका हुन् ।
बडिगाडमा वडाका जनप्रतिनिधीमा र बागलुङ नगरपालिकामा समुदायमा नै कोरोना संक्रमण देखिएपछि यी स्थानीय तहले आफ्नो पालिकामा निषेधाज्ञा जारी गर्न जिल्ला प्रशासनलाई अनुरोध गरेका थिए । वडिगाडमा साउन ३१ गतेदेखि भदौ ७ गतेसम्म र बागलुङ नगरपालिकामा भदौ ३ गतेदेखि ९ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । चैत्र ११ गतेदेखि करिब २ महिना लकडाउनका कारण सुनसान भएका यहाँका बजार क्षेत्र र सडक अहिले फेरी सुनसान भएका हुन् ।
निषेधाज्ञा लगाएकाले सडकमा अत्यावश्यक सेवाका बाहेक अन्य सवारी साधन चलेका छैनन् । औषधी र खाद्यान्नबाहेक अन्य पसल पनि खुलेका छैनन् । सडकमा सुरक्षाकर्मीले सवारी साधन चलाउने र पैदलयात्रा गर्नेलाई सोधखोज गरिरहेका छन् । अत्यावश्यक कामबाहेक घरबाहिर निस्किनेलाई कारबाही गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करीडोरमा पनि सवारी चलेका छैनन् ।
हेर्नुहोस् तस्वीर :














