पर्वत, ८ भदौ– जिल्ला प्रहरी कार्यालय लमजुङले ठुलो परिमाणको अवैध जंगली जडीबुटीसहित एक महिलालाई पक्राउ गरेको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयकी प्रवक्ता एसएसपी किरण रानाका अनुसार, लमजुङ प्रहरीको टोलीले आइतबार लमजुङको बेसीसहर नगरपालिका–७ मा बस्दै आएकी ३८ वर्षिया सिद्धीमाया तामाङलाई पक्राउ गरेको हो ।
घरमा अवैध रूपमा जंगली जडीबुटी लुकाईछिपाई राखेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरीले तामाङको घरमा छापा मारेको थियो । खानतलासीका क्रममा विभिन्न प्रजातीका अवैध जंगली जडीबुटी बरामद गरेको प्रहरीले बताएको छ ।
एसएसपी रानाका अनुसार, जडीबुटी डालिङ (गुरुङ भाषामा टलिट भनिने) ४७६ किलो १ सय ग्राम, वन लसुन १ सय ५४ किलो, कुड्की २४ किलो ६ सय ग्राम, जटामसी १४ किलो ९ सय ग्राम, सुगन्धवाल १८ किलो ३ सय ग्राम, सतुवा ४ किलो ४ सय ग्राम र वन आलु २ किलो ८ सय ग्राम गरी जम्मा ६ सय ९५ किलो १ सय ग्राम जडीबुटी नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेकी तामाङसहित बरामद भएका जडीबुटीलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय लमजुङ पठाइएको छ । घटनाबारे थप अनुसन्धान पनि भइरहेको प्रदेश प्रहरीले जनाएको छ ।





