पोखरा, १३ भदौ– पोखरेली फुटबलका सफल कप्तान तथा भजन गायक डम्बरलाल माकाजूको ९२ वर्षको उमेरमा निधन भएको छ । पूर्वशिक्षकसमेत रहेका उनी भजन गायकको रुपमा पनि परिचित थिए । उनको शुक्रबार दिउसो आफनै निवास पोखरा–३ नदीपुरमा निधन भएको हो । माकाजू पोखराका सफल फुटबल कप्तान हुन् । २०१२ सालताका माकाजू विजय टिमका कप्तान थिए । माकाजूको पार्थिव शरीरलाई शुक्रबार नै रामघाटस्थित सेतीनदीमा दाहसंस्कार गरिएको छ । उनका रवीन्द्र, ज्ञानेन्द्र र सुरेन्द्र गरि ३ छोरा र २ छोरी छन् ।




