पोखरा, १३ भदौ– नेपाल पत्रकार महासङ्घले संमणको उच्च जोखिमबीच फिल्डमा खटिने सञ्चारकर्मीको निःशुल्क पिसीआर परीक्षणको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । महासंघका महासचिव रमेश विष्टले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा संक्रमण देखिएका संचारकर्मीमध्ये केही निको भइसकेका छन्, केही उपचाररत अवस्थामा भएको उल्लेख गर्दै विषम परिस्थितिमा संक्रमणको उच्च जोखिमबीच फिल्डमा खटिने सम्वाददाता, फोटो पत्रकार र क्यामेरा पर्सनको पीसीआर गर्न माग गरिएके हो ।
महासंघले महामारीको यस्तो विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा सम्वेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्दै स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न आपील पनि गरेको छ । महासंघका अनुसार उच्च जोखिमबीच अग्रभागमा रहेर पेशागत कर्म निर्वाहका क्रममा अहिलेसम्म ७१ पत्रकार तथा सञ्चारकर्मी कोरोनाबाट संक्रमित भएका छन् । सो महासङ्घको अभिलेखअनुसार मलुकका सात प्रदेशमध्ये छ प्रदेशका पत्रकार तथा सञ्चारकर्मी संक्रमित हुन पुगेका छन् ।





