रुपन्देही, १३ भदौ – कोरोना संक्रमित बिरामीलाई एम्बुलेन्सले बोक्न नमानेपछि शव वाहनमा अस्पताल पुर्याइएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १३ का ४८ वर्षीया संक्रमितमा श्वासप्रश्वासको समस्या देखिएपछि अस्पताल लगिएको हो ।
संक्रमितका आफन्तले सुरुमा कोरोना विशेष अस्पताल बुटवलको एम्बुलेन्सलाई फोन गरे । एम्बुलेन्सले व्यस्त रहेको बताएपछि अन्य संघसंस्थाका एम्बुलेन्सका चालकलाई फोन हाने । तर कसैले पनि कोरोना संक्रमित बोक्न मानेनन्। ‘कोरोना पोजिटिभ बिरामी हो भन्नासाथ फोन काटे, कसैले बोक्नै चाहेनन्, संक्रमितका एक आफन्तले भने ।
बुटवलमा आइसियु उपलब्ध नभएपछि उनलाई चितवन मेडिकल कलेज पुर्याउनु थियो । एम्बुलेन्सले नै नमानेपछि उनीहरु समस्यामा परे । आफन्तमार्फत अन्ततः शव वाहन फेला पारे। त्यो पनि चालक बिनाको । बुटवल उपमहानगरपालिकाले हालै खरिद गरेको शव वाहन संक्रमितकै छोराले चलाएर चितवन पुर्याए । ‘अन्य विकल्पै नभएपछि जिउँदो बुवालाई शव वाहनमा बोक्नु पर्योु, आफन्तले भने,‘सबैभन्दा ठूलो त ज्यान बचाउनु नै थियो ।’
चितवन मेडिकल कलेजको आइसियुमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार आएको छ। उनको परिवारमा दुई छोरासहित अन्य तीन जनामा समेत कोरोना संक्रमण भएको छ । कोरोना संक्रमित बिरामीलाई एम्बुलेन्सले बोक्न नमान्दा समस्या भएको छ । कोरोनाका बिरामी बढेसँगै बुटवलको अस्पतालको आइसियु भरिएका छन्। भैरहवामा आइसियु रहे पनि जनशक्ति नहुँदा चल्न सकेका छैनन् ।
एम्बुलेन्सले कोरोना संक्रमित बिरामी बोक्नै नमान्दा समेत प्रशासनले कुनै कदम चालेको छैन । दुई साता अघिमात्रै एक कोरोना संक्रमित गर्भवतीलाई एम्बुलेन्सले बोक्न नमान्दा उनीहरु निजी गाडीमा नेपालगञ्ज पुगेका थिए । ‘बिरामी बोक्नका लागि कर छुटमा एम्बुलेन्स ल्याउने तर जोखिममा रहेका बिरामी नै नबोक्नु दादागिरी हो, कोराना संक्रमितका आफन्त भन्छन् ।





