बागलुङ, १७ भदौ– ‘जहाज चढेर उपचारका लागि जानेले लिन खोज्लान् भनेर मैले सार्वजनिक रुपमा प्लाज्मा दिन्छु भनेकी छैन, तर कोही दिनदुखीको ज्यान बचाउन सक्ने अवस्थामा म प्लाज्मा दिनका लागि तयार छु’ जैमिनी नगरपालिकाबाट धौलागिरी अस्पतालमा काजमा खटिने क्रममा संक्रमित भएर कोरोना जितेकी नर्सले भनिन् ‘यो एउटा उपचारको विधि हुनसक्छ भनेका छन्, बेखर्ची गरीबलाई सहयोग गर्न तयार रहेको कुरा सञ्चारमाध्याममा आउँदा फरक नपर्ला ।’
अहिले काठमाण्डौको एक अस्पतालमा चिकित्सकलाई नै प्लाज्मा दिएर उपचार भैरहेको छ । जसको नतिजा राम्रो आएको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी गराएका थिए । त्यस यता देशका कोभिड अस्पतालहरुले प्लाज्मा थेरापीको अनुमति माग्न थालेका छन् । शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल र सेती प्रादेशिक अस्पताल धनगढीपछि कोरोनाका बिरामीको उपचार गर्ने अस्पताल हो धौलागिरी अस्पताल ।
चैतको १५ देखि यो समाचार तयार पार्दासम्म झण्डै १ सय ५० जना संक्रमितले यो अस्पतालमा उपचार गराएरै कोरोना जिते । अहिले पनि १९ जना सक्रिय संक्रमितको उपचार भैरहेको छ । कोरोनाका बिरामीको उपचारमा देशकै अग्रपंक्तिका अस्पतालको सूचीमा पर्ने धौलागिरी अस्पतालले प्लाज्मा थेरापी विधिबाट उपचार गर्ने अनुमती दाबी गरेको छ ।
अस्पतालले राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदसँग आँफुहरु पनि प्लाज्मा थेरापी अपनाउन तयार रहेकाले अनुमति माग्दै पत्र पठाएको हो । परिषदको अनुमतिपछि मात्रै यो विधि प्रयोग गरेर उपचार गर्न पाईने कानुनी व्यवस्था छ । ‘अवस्था के कस्तो आउँछ आँकलन गर्न सकिँदैन’ अस्पतालका प्रमुख डा. शैलेन्द्र बिक पोख्रेलले भने ‘डाक्टर’सापलाई नै प्रयोग गरिएको विधिले सकारात्मक नतिजा दिएको खबरले हामीलाई उत्साहित बनायो ।’
सम्भावित गम्भिर प्रकृतिका बिरामीको उपचार बागलुङमा नै गर्न सकियोस् भनेर तयारी थालेको पोखरेल बताउँछन् । हालसम्म जिल्लामा कोही पनि गम्भिर प्रकृतिका लक्षण देखिएका बिरामी भने छैनन् । अस्पतालले अनुमतिसँगै प्जाज्मा थेरापी विधिबाट उपचारको लागि रगतबाट प्लाज्मा छुट्याउन सेन्ट्रिफिक मेसिन पनि माग गरेको छ । ‘अनुमति र उपकरण हुँदा हामी पनि प्लाज्मा थेरापीको विधि अपनाउन सक्छौं’ पोखरेलले भने ‘निको भएकाहरु प्लाज्मा दिन तयार हुँदा मात्रै हामी सक्सेस हुने हो ।’
जिल्लाभर २ सय ६७ जनाले कोरोना जितेका छन् । अनौपचारिक रुपमा जैमिनीकी नर्सबाहेक कसैले प्लाज्मा दिन तयार रहेको भने जानकारी गराएका छैनन् । ‘उहाँहरुलाई आँफुले थोरै योगदान गर्दा कसैको ज्यान बच्छ भन्ने जानकारी नभएर हुन सक्छ’ पोखरेल भन्छन् ‘हामीले सबै तयारी गर्दा कोरोना जित्नेहरु पनि प्लाज्मा दिन तयार हुनुहुन्छ भन्ने लाग्छ ।’ अनुमति र मेसिन आएलगत्तै प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार गर्न सकिने उनले बताए । प्लाज्मा थेरापी निको भईसकेका कोरोना संक्रमितको प्लाज्मा निकालेर संक्रमित व्यक्तिमा राखी उपचार गर्ने विधि हो ।
कोरोना निको भएका व्यक्तिको शरीरमा एण्टीबडि बनेको हुन्छ र उसको प्लाज्मा संक्रमित व्यक्तिमा ट्रान्समिट गर्यो भने त्यसले कोरोना भाईरसलाई कम गर्छ भन्ने सिद्धान्तका आधारमा यो विधिबाट उपचार गरिने डा. पोखरेल बताउँछन् । यो विधिबाट गम्भीर खालका बिरामी लाभान्वित हुनेछन् । आईसियूमा राखेर उपचार गर्नुपर्ने गम्भीर प्रकृतिका विरामीलाई प्लाज्मा थेरापी विधिमार्फत उपचार गरिन्छ ।





