अभिभावक गुमाएका बालबालिका मिना, सुस्मिता, महेश, मनिस र सुदिप विक । तस्वीर : सज्जन कुमार सिँह/ढोरपाटन
बोबाङ (बागलुङ), २२ भदौ – महेश विक हेलिकप्टर उडेको देख्दा निकै खुशी हुन्थे । कसैले हेलिकप्टर लिएर खेलाएको देख्दा पनि उनले निकै चाख मानेर हेर्थे । कहिलेकाही आकाशमा हेली उड्दा उनी साथीसँगै गफ लगाउथे । ढोरको धुरीमा बस्ने हो भने हेलिकप्टरलाई छुन सकिन्छ । हेलिकप्टर नजिकबाट देख्न पाए हुन्थ्यो नि भन्ने महेशले लगातार दुई दिनसम्म आफु नजिकै हेलिकप्टर देखे । नजिकैबाट हेलिकप्टर देख्ने उनको इच्छा त पुरा भयो तर उनलाई त्यो नजिकैको हेलीले खुसी दिन भने सकेन । अहिले उनले हाँस्न भुलेका छन् । उनलाई खुसी हुन परिस्थितीले दिएको छैन । चिन्ताले सताएको छ ।
उमंगसंग दिन विताउने १०÷११ बर्ष महेशको भदौ १७ गते राती आएको बाढीपहिरोले हाँसो लुटिदियो, खुशी खोसी दियो । बाढीले घर बगायो, आफ्ना बाबा, आमा, दुई भाई र एक बहिनी पनि कहिल्यै नफर्कने गरी गए । उनी सँयोगले बाँचे ।
१७ गते राती बाबाआमासँगै भएको भए उनी पनि सायद यहाँ हुन्थे हुन्थेन ! बाढी आउँदाको दिन उनी ढोरको गोठमा थिए । बस्तुभाउलाई घासँपानी र हेरचाह गर्न गएका महेश भोलिपल्ट विहानै देउरालीको जँगलबाट बाढी आएर गाउँ नै बगाएको खबर पाएपछि अत्तालिदै घर हानिए । तर त्यहाँ नपुग्दै कलिलो मस्तिस्क र मुटुले थेग्न सक्ने दृश्य थिएन । भक्कानिदै भने, ‘म त जँगलमा थिए, बाबा आमा भाइबयना यही थिए सवैलाई बाढीले लगेछ ।’
उनी सुकसुकाउन थाले । अलि फरक खालको लवज भएका महेशले बाहिरबाट आएका मान्छेले सोधेका धेरै प्रश्न बुझ्दैनन् । उनका बाबा हेम बहादुरले भर्खरै जग्गा बेचेका थिए रे । जग्गा बेचेर केही गर्ने अठोट थियो । घरपरिवारमा कुनै पनि सदस्य नरहेका बालक महेश हुन् । उनलाई सबैले कठै भन्दा पनि रुन मन लाग्छ । उनी बेचयन् छन् । थाहा छैन उनको कलिलो मस्तिस्कलाई यो के हुदैछ जीन्दगीमा ! न खानाको ठेगान छ, न सुत्नको नत अन्य कुराहरु बुझ्छ नै बाल मस्तिष्कले ।
ढोरपाटन नगरपालिका वडा नम्बर ५, ६, ७ मा भएको बाढी विध्वंसमा परिवार कै साहरा गुमाउने मध्ये मेहेशसँगै अर्का दुई नाबालिका सुस्मिता विक र मिना विक पनि छन् । उनीहरु पनि १४ बर्ष मुनिका बालबालिका नै हुन् । कक्षा ७ मा पढ्ने सुस्मिता र उनकी बहिनी बाँच्नुमा पनि सँयोग छ । त्यो रात उनी गाउँ साथीको घरमा बस्न गएका थिए । महेश र सुस्मिता दुई भाइका छोराछोरी हुन् । ‘बरु सँगै जान पाएको भए त ठिकै हुन्थ्यो । बाबा आमा घर नहुँदा मरु झै लाग्छ । रिँगटा लाग्छ । एकपटक बाबा आमाको मुख हेर्न मन छ ।’ उनले भावविव्हल हुदै भनिन् ।
तस्वीर : सज्जन कुमार सिँह/ढोरपाटन
सबैको शव भेटिएको छ भन्छन् तर कोको भेटिएको हो उनलाई थाहा छैन । ‘हाम्रा बाबा आमा भेटिएकीनाइ पत्तो छैन । को को हो चिन्न पनि सकिदैन रे ।’ उनी रुन थाल्छिन् । बाबाआमा र सबै परिवार गुमाउने यी बालबालिकालाई खाना बस्न, पढ्न र अभिभावकत्व निभाउने मान्छे कोही छैन । बाढी गएको भोलिपल्ट उनीहरु छिमेकीको घरमा बसे तर उनीहरुलाई नै निद्रा लागेन । ‘खै के पो गरीखाने खाने हो कता जाने हो ? घर छैन बाबाआमा कोही छैन ।’ उनले आफ्नो पीडा एकसाथ सुनाईन् ।
बाढीमा परेर सोही ठाउँका ६ बर्षका मनिस विक र ७ बर्षका सुदिप विककी आमाले पनि ज्यान गुमाइन । आमासँगै सुतेका उनीहरुलाई आमाले छाडेर जान्छिन् भन्ने के थाहा ? दुई जना बाढीबाट जोगाएर पर राख्न सफल भइन तर उनी भने कहिल्यै नफर्कने गरी बाढीसँगै बगिन । ‘हामी डरले रोइरहेका थियौ, आमाले यही बसो म पैसा लिएर आउछु भन्दै जानु भो ।’ सुदिपले भने । श्रीमानले विदेशबाट पठाएको पैसा लिन जादाँ आमा फर्किनन् । बाबा उता विदेशमा भावविव्हल अवस्थामा छन् । यता, नाबालक मनिस र सुदिप साहरा विहिन भएका छन् । सुन, पैसा र अन्य सम्पती जोगाउन खोज्दा केही व्यक्तिको ज्यान गएको स्थानीय हेम बहादुर विकले वताए ।
त्यो दुखान्त बाढीमा ९ महिनाकी शिशु र ३ बर्षका बालक पनि बाँचेका छन् । यी दुई बच्चा पनि अहिले आमाविहिन भएका छन् । त्यही बच्चालाई मावलीले हेरेका छन् । ९ महिनाको सानो नानी आमा खाजेर रोएकोरोवै गर्छ, त्यही देखेर पनि त्यहाँ पुग्नेको आसु थामिन्न । यो बाढीपहिरोमा २२ दिनको शिशु पनि बगाएको स्थानीयको भनाइ छ ।
स्थानीय युवा हिरा बिकका अनुसार सुस्मिता, मिना र महेश सबैभन्दा बढि पीडामा छन् । उनीहरुका कोही पनि नबँचेकोले विचल्लीमा पर्ने भएकोले यी बालबालिकाको उद्धार र लालनपालनको लागि आवश्यकता छ । हिराले यी बालबालिकाको खानपिन, वसाई र पढाईलेखाई तथा सुन्दर भविष्यको लागि सहयोगको आब्हान गरे ।
तस्वीर : सज्जन कुमार सिँह/ढोरपाटन
मृतकको पहिचान गर्न कठिन
बाढीमा परी मृत्यु हुनेको संख्या शव भेट्याएपछि गनिए पनि एकिन विवरण प्राप्त गर्न कठिन छ । कुनै कुनै शवको केही अँग मात्र भेटिएपछि त्यसलाई एउटा शव भनेर मान्ने किन नमान्ने भन्ने समेत जटिलता थपिएको उद्धारमा खटिएका वडा अध्यक्ष हरिबहादुर घर्तिले वताए । एउटा शव आफन्तको भनेर दाहसंस्कार गरिएको प्रेम पुनको शव भेटियो । शव पहिचान गर्नै समस्या छ । आजसम्म पनि १६ जनाको शव भेटिएको र शव बडिगाड र गुल्मिसम्म पनि भेटिने गरेको अध्यक्ष घर्तिको भनाइ छ ।
वेपत्ता बारे सत्य विवरण नै अन्योल
बेपत्ता भएका व्यक्तिहरुबारे पनि अन्यौल छ । बाँचेका मान्छे र छिमेकीले दिएको जानकारीका आधारमा बेपत्ता सँख्या अड्कल गरिएपनि कति जनामा मान्छे बेपत्ता भए भन्ने सही विवरण जान्न मुश्किल छ । बाहिरबाट घुम्न आएका समेत बाढिमा परेकाले ठ्याक्कै कति जना बेपत्ता भए भन्ने एकिन गर्न मुस्किल भएको प्रहरीले जनाएको छ । स्थानीय तह र स्थानीयबासीको दाबीका आधारमा जम्मा बेपत्ता ३८ भनिएको थियो । त्यी मध्ये १६ जनाको शव फेला परेका छ ।
बाढीका कारण ९३ नब्बे घर पुर्णरुपमा क्षति भएको छ र अझै विवरण पुरा आउन सकेको छैन । ३८ जना बेपत्ता मध्ये १६ जनाको शव भेटिएको र अरु सबै वेपत्ता भएको वडा अध्यक्ष घर्तिलै बताए । दुई वटा विद्यालय, स्थानीय स्वास्थ्य चौकी, १२ वटा झोलुँगे पुल र केही पक्की पुल समेत ध्वस्त भएका छन् । त्यहाँका हाइड्रो पावर पूर्णरुपमा क्षति भएको छ ।
तस्वीर : सज्जन कुमार सिँह/ढोरपाटन
बाढीले ६ किलोमिटर बढी मोटरबाटो भत्कियो
बाढीले खोला नजिकबाट लगिएको मोटरबाटो पनि भत्काएको छ । वडा नम्बर ५ देखि ९ सम्म ६ किलोमिटर भन्दा बढि मोटरबाटो पुर्णरुपमा भत्किएको र यातायात तथा राहत समाग्री ढुवानीमा समस्या भएको ढोरपाटन नगरपालिका नगरप्रमुख देव कुमार नेपालीले बताए । दुई वटा डोजर चलाएर बाटो खुलाउने काम सुचारु गरिएपनि धैरै जोखिम ठाउँको बाटो बनाउन महिना दिन बढि लाग्ने उनको भनाइ छ ।
गृहमन्त्री र मुख्यमन्त्रीको राहत, स्थानीय जनप्रतिनिधीको सक्रिय खटाई
बाढी प्रभावित ठाउँमा गृहमन्त्री रामबहादुर थापा र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ राहत सहित उपस्थित भए । शुक्रबार गृहमन्त्री थापा र शनिबार मुख्य मन्त्री गुरुङले ३२ परिवारलाइ नगद, अत्यावश्यक सामाग्री, फर्म, पाल सहित अन्तरिम राहत प्रदान गरे । मृतक परिवारलाइ तत्कालै पचास हजार रुपैयाँका दरले राहत प्रदान गरे । यहाँका स्थानीय जनप्रतिनिधीको सक्रिय खटाईले धेरैलाई राहत मिलेको छ । विपत्तीमा स्थानीय सरकारको अनुभुती भएको पिडितहरुले सुनाए ।




