बागलुङ, १ असोज– समुदायका सबै नागरिकलाई आधारभुत तथा निशुल्क स्वास्थ्य सेवा उपलव्ध गराउन बागलुङ नगरपालिका वडा नं. १ रामरेखामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको छ ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालयको कार्यक्रमअन्र्तगत बागलुङ नगरपालिकाले सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । केन्द्रको बिहिबार नगरप्रमुख जनकराज पौडेलले उद्घाटन गरे ।
सरकारले आर्थिक बर्ष २०७६÷०७७ मा नै समुदाय स्तरमा आधारभूत स्वास्थ्यको पहुँच विस्तारको कार्यक्रम ल्याएको भएपनि कोरोना महामारीका कारण सेवा केन्द्रहरु स्थापना हुन सकेका थिएनन् ।
बागलुङ नगरपालिकाले पहिलो चरणमा रामरेखामा सेवा केन्द्र सञ्चालनमा ल्याएको र यसै आर्थिक वर्षभित्र नगरका १४ वटै वडामा सेवा केन्द्र सञ्चालनमा ल्याउने जनस्वास्थ्य शाखाका प्रमुख राम प्रसाद खनालले बताए । परिवार नियोजन, गर्भवती जाँच, स्वास्थ्य स्वयंसेविकाले दिने सेवा, सामान्य बिरामी जाँच तथा औषधि उपचारलगायतका सेवा उक्त केन्द्रबाट प्राप्त गर्न सकिने छ ।
तत्कालका लागि एक जना प्यारामेडिक्स र एक जना नर्सिङ स्टाफ राखेर सेवा सञ्चालनमा ल्याईएको स्वास्थ्य शाखाका अहेव डिल्ली आचार्यले बताए । सेवा केन्द्रको उद्घाटन गर्दै नगरप्रमुख पौडेलले जनताको आधारभूत स्वास्थ्य सेवा प्रत्याभुत गर्न नगरपालिका जिम्मेबार रहेको बताए ।
उनले सेवा केन्द्रमा खटिने स्वास्थ्यकर्मीले नागरिकको मर्म बुझेर सेवा दिन निर्देशनसमेत दिए । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत डण्डपानी शर्मा, समाजसेवी दुर्गा आचार्यलगायतले बोलेका थिए । वडा अध्यक्ष दुर्गा बहादुर बोहराको अध्यक्षता, कार्यपालिका सदस्य लक्ष्मी बोहराको स्वागत र अहेव डिल्ली आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।





