सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

समाजवाद संकल्प पूरा गर्न भूमिका निर्वाह गर्छु : वामदेव गौतम

समाजवाद संकल्प पूरा गर्न भूमिका निर्वाह गर्छु : वामदेव गौतम

‘नेकपाले समाजवाद स्थापना गर्न संकल्प गरेको छ, त्यो कार्य सम्पन्न गर्न के कति भूमिका निर्वाह गर्न सक्छु म यहाँबाट गर्छु।’


  • ढोरपाटन संवाददाता
  • असोज १ २०७७, बिहिबार

काठमाडौं, १ असोज – राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले आफ्नो कुनै स्वार्थ नभएको बताएका छन्। बिहीबार राष्ट्रिय सभा सदस्यको रुपमा शपथ लिएपछि पत्रकारसँग कुरा गर्दै गौतमले यस्तो बताएका हुन्। उनले आफू संविधान बमोजिम राष्ट्रिय सभा सदस्य भएको र सोही अनुसार कामकारबाहीमा सहभागी हुने उल्लेख गरे ।  ‘म नेपालको संविधान बमोजिम यहाँ उपस्थित भएको छु। राष्ट्रिय सभाको कामकारबाहीमा मैले आफूलाई प्रस्तुत गर्नेछु। मेरो त्यो भन्दा अर्को उद्देश्य, लक्ष्य र स्वार्थ छैन’, पत्रकारसँग कुरा गर्दै गौतमले भने, ‘म तपाईंहरुको भावनालाई कदर गर्छु।’ 
गौतमले राष्ट्रिय सभाको गरिमा बढाउनका निम्ति आफूले कर्तव्य निर्वाह गर्नेसमेत उल्लेख गरे। उनले जिम्मेवारीमा रहँदासम्म राष्ट्रिय सभाको गरिमा र प्रतिष्ठा गिराउने गरी कुनै क्रियाकलाप नगर्ने बताए।  ‘म राष्ट्रिय सभाको गरिमा बढाउनको निम्ति नेपालको संविधान र राष्ट्रिय सभाको नियमावली बमोजिम मैले निर्वाह गर्नुपर्ने कर्तव्य निर्वाह गर्न आएको छु’, गौतमले भने, ‘मैले यो सभाको सदस्य  रहँदासम्म कहिल्यै पनि राष्ट्रिय सभाको गरिमा र यसको प्रतिष्ठालाई गिराउने गरी कुनै क्रियाकलाप गर्ने छैन।’  गौतमले राष्ट्रिय सभामा रहँदासम्म नेपालको स्वतन्त्रता, राष्ट्रियता, सार्वभौमिकता र जनताप्रति बफादार भएर कर्तव्य निर्वाह गर्ने प्रष्ट पारे।
‘मैले राष्ट्रिय सभाको जिम्मेवारी पूरा गर्दा नेपालको स्वतन्त्रता, नेपालको राष्ट्रियता, सार्वभौमिकता र नेपाली जनताप्रति सधैं बफादार भएर कर्तव्य निर्वाह गर्नेछु’, गौतमले भने।  नेकपा उपाध्यक्षसमेत रहेका गौतमले पार्टीले समाजवाद स्थापनाका लागि गरेको संकल्पको सम्झना गर्दै त्यो कार्य सम्पन्न गर्नका निम्ति भूमिका निर्वाह गर्ने उल्लेख गरे। ‘नेकपाले नेपालमा समाजवाद स्थापना गर्न संकल्प गरेको छ’, उनले भने, ‘त्यो कार्य सम्पन्न गर्न के कति भूमिका निर्वाह गर्न सक्छु म यहाँबाट गर्छु।’
गौतमले आफूलाई राष्ट्रिय सभामा उपस्थिति गराउनका निम्ति पार्टी, सरकार र राष्ट्रपतिले गरेको सहयोगप्रति धन्यवाद प्रकट गरे। उनले आफूले पार्टी सदस्यता दिएको व्यक्तिबाट राष्ट्रिय सभा सदस्यको शपथ लिन पाएको भन्दै खुशी व्यक्त गरे।
‘यो सभामा उपस्थित गराएर शपथ ग्रहण गराउँनुहुने अध्यक्षज्यू (गणेशप्रसाद तिमल्सिना) कुनै बेलामा मेरो कार्यकर्ता हुनुहुन्थ्यो। मैले पार्टीको सदस्यता प्रदान गरेको थिएँ। आज मैले सदस्यता प्रदान गरेको एउटा कमरेड राष्ट्रिय सभाको अध्यक्ष हुँदा मेरो छाती गर्वले फुलेको छ’, गौतमले भने, ‘म उहाँप्रति हार्दिक हार्दिक आभार प्रकट गर्न चाहन्छु। यो अवसर मैले जीवनमा पाएको थिइनँ। आज गरिमा प्रदान गर्नै सम्पूर्ण महानुभावलाई धन्यवाद दिन चाहन्छु।’  

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->