नेपालले नयाँ नक्सा जारी गर्नुपूर्व ‘देशको मानचित्र’मा चुच्चे नक्सा भएको प्रदेशको पहिचान गण्डकीसँगै थियो । भारतसँग जोडिएको नवलपुर नक्सामा चुच्चो देखिन्थ्यो । प्रदेश नम्बर ५ मा मिसाउने कि टुक्र्याएर ४ मा थप्ने भन्ने लामो विवादपछि गण्डकीले पूर्वी नवलपुर पाएको होे ।
देश संघीय संरचनामा गएसँगै रुपन्देही गण्डकीको भागमा परेन, नुनको नाका बुटवल– प्रदेश नम्बर ५ तिर स¥यो । मनाङ, मुस्ताङ र गोर्खाले उत्तरी चीन छोएको गण्डकीबाट र रुपन्देही खोसिँदा गण्डकीमा असन्तुष्टि चुलियो । बटौली, बन्दीपुर, बाग्लुङ बुर्तिबाङ र ठोरीको ‘व्यापारिक चेन’ चुँडिएपछिको असन्तुष्टिले झन्डै आन्दोलनको रूप लियो ।
लुम्बिनी अञ्चलको नवलपरासी जिल्ला प्रदेश नम्बर ४ मा पारिनुपर्ने माग सबैजसो राजनीतिक दलहरूले गरे । आफ्नो प्रदेश दुवै छिमेकीसँग जोडिनुपर्ने उनीहरूको अडान थियो । तत्कालीन एमालेका नेता तथा हाल गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले नवलपरासीलाई गण्डकीमा राख्न नहुने भन्ने भनाइको खण्डन गर्दै भनेका थिए– ‘संविधानको अनुसूची ४ मा भएको कुरालाई फेर्न मिल्दैन, माउसुलीको पुच्छर टुक्र्याएजस्तो होइन ।’
यता कांग्रेसका महामन्त्री शशांक कोइरालाले पनि त्योबेला नवलपुर गण्डकीबाट छुट्याउन नसकिने अभिव्यक्ति दिए । संघीय संरचना तयार पार्दा नवलपरासीलाई टुक्र्याइएको थियो । गण्डकी प्रदेशका राजनीतिक दलहरू भारतसँग जोडिन चाहन्थे । उता पूर्वी नवलपरासीमा पहाडियाहरूको बस्ती बाक्लो थियो । यहाँको ३ लाख जनसंख्यामध्ये आदिवासी थारूहरू करिब १५ प्रतिशत हाराहारीमा मात्रै थिए । पूर्वी नवलपरासीतिर उनीहरूको बस्ती पातलो थियो । त्यहाँ नागरिकहरू सदरमुकामसम्मको १ सय किलोमिटर यात्रा गर्न विवश थिए । उनीहरू स्वायत्तता चाहन्थे । त्यही चाहना अनि पहाडसँगको साइनका कारण उनीहरू प्रदेश नम्बर ४ तिर नजिकिए । जिल्ला टुक्रियो । ५ गाउँपालिका र २ नगरपालिकासहितको ५४१ वर्गकिलोमिटर क्षेत्रमा कान्छो जिल्लाका रूपमा दर्ज भयो ।
नवलपुर र परासी २ भागमा बाँडिदा कावासोतीलाई सदरमुकाम बनाइयो । त्रिवेणी नाका गण्डकीले पायो । त्रिवेणीलाई मुस्ताङको कोरला नाकासँग जोड्ने योजना छ, गण्डकी सरकारको । यसको पहिलो सर्त त्रिवेणी–दुम्किबास, कावासोती–बुलिङटार–डेढगाउँ–भीमाद खैरेनीटार हँुदै पोखरासम्मको बाटो बन्नु नै हो ।
यो बाटो बनेपछि मात्र नवलपुरबासीलाई गण्डकी प्रदेशको राजधानी आउन सजिलो हुन्छ । उनीहरूले गण्डकीसँगको अपनत्वमा व्यावहारिकता पाउँछन् । गण्डकी प्रदेश सरकारको पहिलो नीति तथा कार्यक्रममा समावेश कोरला–त्रिवेणी सडकखण्डलाई यो प्रदेशको ‘लाइफ लाइन’ बनाउने घोषणा कार्यान्वयनमा आउनैपर्छ । नवलपुरबाट पोखरासम्मको १११ किलोमिटर बाटो पहिला बन्नुपर्छ अनि पोखराबाट मुस्ताङ कोरलासम्मको २५८ किलोमिटर बाटोसँग सोझै त्रिवेणी जोडिँदा मात्रै व्यापारको नयाँ रेखा बन्नेछ ।
‘पूर्वाधार नबनेसम्म, बाटोले त्रिवेणी र कोरला नजोडिएसम्म हामीसँग यो वा त्यो कुरा छ भन्नुबाहेक केही हुँदैन,’ नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी भन्छन्– ‘भूगोलले हामीलाई दुई ठूला देशसँग जोडेको त छ, तर यसलाई व्यावहारिक रूपमा प्रयोगमा ल्याउँदै आर्थिक समृद्धिको माध्यम बनाउने कामचाहिँ अन्ततः प्रदेश सरकारको सक्रियतामा नै भर पर्छ ।’
उनका अनुसार नवलपुर गण्डकी प्रदेशका लागि सामरिक र आर्थिक दुवै कारणले महत्वपूर्ण जिल्ला हो । प्रदेशको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्न सक्ने अनि अहिले भएका आर्थिक केन्द्रको सट्टा नयाँ केन्द्र स्थापना गर्न सक्ने सामथ्र्य त्रिवेणी नाकासँग रहेको छ । बाटोले हिजोका व्यापारिक केन्द्रहरूलाई छायामा पारेको इतिहास सम्झँदै उनले भने– ‘नयाँ व्यापारिक केन्द्र बन्नु भनेको नयाँ ठाउँ विकसित हुनु पनि हो ।’
…….
व्यापारले ल्याउने वैभव
नेपालको कुल गार्हस्थ उत्पादन ३४ खर्ब ६४ अर्र्ब ३२ करोड रहेको छ भने गण्डकीले ८.३२ प्रतिशत अर्थात् २ खर्ब ८८ अर्ब २० करोड रुपैयाँको योगदान दिँदै आएको छ । केन्द्रीय तथ्यांक विभागले सन् २०१८ मा सार्वजनिक गरेको तथ्यांकमा गण्डकी प्रदेश पनि अन्यजस्तै निर्यातभन्दा आयातमुखी अर्थतन्त्रमै अडिएको छ ।
यहाँबाट सीमित मात्रामा अदुवा, सुन्तला, अलैँची, कफी, स्याउ र जडीबुटी निकासी हुँदै आएको छ । पिउने पानी, ऊनलगायतका कृषिजन्य उत्पादनका अलावा बिजुली निर्यातको सम्भावना गण्डकीसँग रहेको छ । तर, आयात प्रतिस्थापन गर्न उत्पादकत्व बढाउनैपर्छ ।
‘मुख्य कुरा उत्पादकत्व बढाउनु नै हो, आयातमा निर्भर अर्थतन्त्रलाई कम्तीमा आत्मनिर्भर बनाउनेतर्फ पहिला सोच्नुपर्छ,’ पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेल भन्छन्– ‘भोलि कोरला–त्रिवेणी नाका सञ्चालनमा आउँदा हामीले के निर्यात गर्ने भन्नेबारे अहिल्यैदेखि तयारी थाल्नुपर्छ, भन्सारमा उठ्ने दस्तुरले मात्रै अर्थतन्त्र उँभो लाग्दैन, निर्यातयोग्य वस्तुको पहिचान र उत्पादनका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकारले हात बढाउनुपर्छ ।’
……
बटौली, बन्दीपुर र बुर्तिबाङको वैभव
नुनका ढाकर बोक्नेहरू, कुल्ली/दरबान बन्न मुगलान भासिनेहरू, छाती नपाउन नौतुना काट्नेहरू र जुल्फी लर्काउँदै बाक्सा र गुन्टा बोकेर घर फर्कनेहरू ! खस्यौलीले के देखेन ? खस्यौली याने बटौली, बटौली याने आधुनिक बुटबल ।
तिनाउ नदी पश्चिमको १५/२० घर झुपडीहरू अझै पनि खस्यौली सम्झनेहरूको स्मृतिमा ताजै हुनुपर्छ । लाहुरे पछ्याउँदै गएका मुस्ताङका थकाली र व्यापार गर्न हिँडेका मनाङेहरूको अस्थायी छाप्राहरूसँगै सुरु भएको खस्यौलीको वैभवमा नुनको व्यापारले भरथेग ग¥यो ।
गण्डकी, धवलागिरि, लुम्बिनी, राप्ती अञ्चलकाहरू नुन खेप्न त्यतै पुगे । २०१६ मै खस्यौलीले नगर पञ्चायतको दर्जा पायो । बजार गुलजार हुन थाल्यो । २०१९ सालमा खस्यौलीमै तत्कालीन राजा महेन्द्रले पूर्व–पश्चिम राजमार्गको शिलान्यास गरे । तिनाउवारि तानसेनका व्यापारीहरू आएर बसे । कालान्तरमा त्यो बटौली कहलियो ।
बाग्लुङे, तनहुँका बन्दीपुरे व्यापारीहरू पनि बटौली झरे । बटौलीबाटै बन्दीपुर र बटौलीबाटै बुर्तिबाङ अनि रुकुम रोल्पासम्म व्यापारको ‘चेन’ बन्यो । त्यसबेला पोखराले आफ्नो परिचय बनाएकै थिएन । पोखरामा अझै औलोको डर थियो । बस्ती विकासले भर्खरै गति लिँदै थियो ।
०२५ सालमा सदरमुकाम दमौली सार्नुअघिसम्म बन्दीपुरको बटौलीसँग गहिरो साइनो थियो । बटौलीबाट बोकिएका भारीहरू बन्दीपुरबाट गोर्खा, लमजुङ, मनाङ पुग्थे । यता, बटौलीबाटै सामान खेप्ने बुर्तिबाङले ती सामान रुकुम र रोल्पातिर पठाउँथ्यो ।
झन्डै २५० वर्षको इतिहास बोकेको छ, बन्दीपुरले । काठमाडौंबाट व्यापारको सिलसिलामा हिँडेका नेवारहरूले यो पहाडलाई आफ्नो थातथलो माने । उतैको संस्कृति सम्झँदै भीमसेन मन्दिर बनाए, इँटाका घरहरू बनाए अनि उस्तै झ्यालहरूसहितका छेँ (घर) निर्माण गरे । काठमाडौं खाल्डोबाट आएका उनीहरूले टुँडिखेल के बिर्सन्थे ? टुप्पोमा टुँडिखेल नै तयार गरे । व्यापार रगतमा थियो, उनीहरूले त्यहीँबाट व्यापारको साम्राज्य चलाउन सुरु गरे ।
बन्दीपुरे साहुहरूले १०३० मिटरको उचाइको बन्दीपुरलाई साँच्चिकै व्यापारिक केन्द्र बनाए । घुमिफिरि बन्दीपुर पुस्तकका लेखक चिजकुमार श्रेष्ठका अनुसार बटौलीमा पाइने नुन कालान्तरमा ठोरीमा पाइन थाल्यो । पृथ्वी राजमार्ग बनेपछि पुराना व्यापारीहरू लाखापाखा लागे र बन्दीपुरले पुरानो वैभव गुमायो । तर, समय न हो ! यो पुरानो सहरले व्यापारिक कान्ति गुमाए पनि सांस्कृतिक वैभव गुमाएको छैन ।
माछाका लागि प्रसिद्ध दरम र बडिगाड खोलाको किनारको बुर्तिबाङ बजार कुनैबेला रुकुम–रोल्पासम्म सामान पठाउँथ्यो । त्यसो त, बुर्तिबाङलाई भरथेगचाहिँ गलकोटबाट हुन्थ्यो । मल्ल राजाहरूले शासन चलाएको गलकोट त्योबेला पनि नेपाल सरकारलाई राजस्व बुझाउने हैसियत राख्थ्यो । गण्डकी प्रदेशमा रहे पनि बाग्लुङको साइनो प्रदेश नम्बर ५ सँग उत्तिकै कसिलो रहेको छ ।
मध्यपहाडी लोकमार्ग निर्माणसँगै गलकोट अनि बुर्तिबाङ बौरिएका छन् । आधुनिक संरचनाहरू बनेका छन्, व्यापारमा नयाँ आयाम खोजिएको छ । ‘मध्यपहाडी लोकमार्ग निर्माणसँगै हामीलाई पुरानो वैभव फर्काउने अवसर मिलेको छ,’ गलकोट नगरपालिकाका मेयर भरत शर्मा भन्छन्– ‘हिजो गलकोटको बुर्तिबाङसँग मात्र नभएर बाग्लुङ, पोखरा र बटौली, रुकुम÷रोल्पासँग साइनो थियो, अब यो साइनो अझ बिस्तारै नयाँ रूपले अघि बढ्दै छ ।’





