बागलुङ, १० असोज– पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रयोगशालामा काम गर्ने एक जना स्वास्थ्यकर्मि सहित गण्डकी प्रदेशका चार जिल्लामा शनिवार १५ जना कोरोना संक्रमित थप भएका छन् । स्वास्थ्य निर्देशनालय पोखराको पछिल्लो विवरण अनुसार कास्की, तनहुँ, मनाङ र लमजुङमा नयाँ संक्रमित देखिएका हुन् ।
कास्कीको पोखरा महानगरपालिकामा १० जना, तनहुँको शुक्ला गण्डकी र भानुमा एक/एक जना, लमजुङको दुधपोखरी र राइनाशमा एक/एक जना तथा मनाङको चामेमा एक जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । यो सँगै पछिल्लो विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ६६० पुगेको छ ।
क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरा र चितवन मेडिकल कलेज चितवनमा उनीहरुको परीक्षण गरिएको थियोे । कास्कीको पोखरा महानगरपालिका–४ का ४५ र ४७ बर्षीय पुरुषहरु जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत हुन् ।
पोखराकै वार्ड नं ६ का २६ बर्षीय महिला राष्ट्रिय बाणिज्य बैंक गैडाकोट, नवलपरासी (ब.सु.पू) शाखामा कार्यरत छिन् । वार्ड नं १० का ४७ बर्षीय पुरुष पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मी हुन् । मनाङको चामेका ३१ बर्षीय पुरुष नेपाल प्रहरीमा कार्यरत छन् । बाँकी सबै कन्ट्याक ट्रेसिङ र क्वारेन्टाईनबाट पहिचान भएका संक्रमित हुन । उनीहरु सबैलाई आईसोलेसन लैजाने तयारी भैरहेको छ ।





