बागलुङ, १५ असोज– कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङबाट बागलुङको काठेखोलामा बिहिबार ४ जना संक्रमित थपिएका छन् । काठेखोला गाउँपालिका वडा नं. ३ धम्जाका २४ वर्षिय पुरुष, वडा नं. ७ रेशका २० र ४३ वर्षका पुरुष र वडा नं. ५ बिहुँका १४ वर्षिय बालकलाई कोरोना पुष्टी भएको हो ।
बागलुङकै निसीखोला गाउँपालिका वडा नं. ३ मा २६ र ३१ वर्षका दुइ पुरुष तथा वडा नं. ५ का २० वर्षका पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । उनीहरु भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । गलकोट नगरपालिका वडा नं. ४ का २७ वर्षका युवामा पनि कोरोना संक्रमण पुष्टी भएको छ । उनी रौतहटबाट आएको खुलेको छ । वडा नं. ३ मा २३ वर्षकी महिला र ३५ वर्षका पुरुषमा पनि कोरोना संक्रमण देखिएको हो । उनीहरु कन्ट्याक्ट ट्रेसिङमा परेका भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक बिनोद बिन्दु शर्माले जानकारी दिए ।
त्यसबाहेक पूर्वी नवलपरासीका ५ जना, पोखरा महानगरपालिकाका १६ जना, तनहुँको शुक्ला गण्डकीका ५ जना र स्याङजाको भीरकोटका ३ जनामा पनि कोरोना संक्रमण देखिएको हो । उनीहरु थपिएपछि गण्डकी प्रदेशमा ३ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।




