सन्धिखर्क, १६ असोज – अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल र सहायक प्रजिअ विक्रम थापालाई कोरोनाभाइरस संक्रमण देखिएको छ। ज्वरो, रूघाखोकी लागेपछि प्रजिअ पौडेलको स्वाब परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको हो। सहायक प्रजिअ थापामा भने कोरोनाका लक्षण देखिएको छैन। उनीहरू शीतगंगा नगरपालिका कोठिया तथा सन्धिखर्क नगरपालिका भुजुंगे क्षेत्रमा पहिरोपीडितलाई राहत वितरण गरेर फर्केका थिए।
बिहीबार कोरोना पोजेटिभ देखिएपछि प्रजिअ र सहायक प्रजिअ होम आइसोलेसनमा बसेका छन्। ‘प्रजिअ र सहायक प्रजिअको रिपोर्ट पोजेटिभ आएपछि उहाँहरू घरमै बस्नुभएको छ,’ कार्यालयका कर्मचारी विकासकुमार मिश्रले भने। जिल्ला प्रशासन कार्यालयले काम भने रोकेको छैन। अर्का सहायक प्रजिअ विनोद खनाललगायत कर्मचारी कार्यालयमा छन्। उनीहरूले सेवाग्राहीका काम गरिरहेका छन्।





