बागलुङ, १६ असोज– मध्यपहाडी लोकमार्गको झिँवाखोला–भल्कोट खण्डमा दुरसञ्चार सञ्जालको समस्या समाधानको काम थालिएको छ । नेपाल टेलिकम बागलुङले तीन जिल्लाको सिमानामा रहेको बागलुङको निसीखोलामा टावर विस्तार गर्न थालेको हो । बागलुङ, रुकुम र रोल्पाको सिमानामा पर्ने तिलाचन धुरीमा टेलिकमको टावर निर्माणको काम थालिएको नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारी दिए ।
बागलुङको निसीखोला, रुकुमको भुमे र रोल्पाको सुनछहारी गाउँपालिकामा सहज सञ्चार सेवाका लागि टावर निर्माण गर्न थालिएको हो । टेलिकमको नेटर्वक नरहेका क्षेत्रमा निजी क्षेत्रका दुरसञ्चार प्रदायक कम्पनीहरुको समेत पहुँच पुगेको छैन् । मध्यपहाडी लोकमार्गको झिँवाखोला–भल्कोट खण्डमा समेत दुरसञ्चारको सञ्जाल नहुँदा पर्यटक र स्थानीय सर्वसाधारण मर्कामा थिए ।
निसीखोलाको वडा नं. ६ मा पर्ने तिलाचनको धुरी सामुन्द्रिक सतहबाट ३ हजार ४ सय ८६ मिटरको उचाईमा पर्छ । ‘हाम्रो मुल सडक आसपास मोवाईलमा फोन नलाग्ने समस्या थियो’ गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले भने ‘टेलिकमको टावर बनेपछि जनजिवन सहज बन्छ ।’ झण्डै एक करोड रुपैयाँ खर्चेर ‘फोर जी’ सुविधासहितको टावर निर्माण गर्न लागिएको शर्माले बताए ।
सौर्य उर्जासहित बन्ने टावर आगामी मंसिरसम्ममा सञ्चालनमा ल्याउने तयारी भैरहेको छ । ‘हिउँ पर्नु पुर्व सेवा सञ्चालनमा आउँछ’ शर्माले भने ‘भवन निर्माण र उपकरण धुरीसम्म पु¥याउने काम सुरु भैसकेको छ ।’ एक वर्ष पहिलादेखि तिलाचन धुरीमा टावर निर्माणको लागि प्रयास भैरहेको भएपनि तीन जिल्लाको सिमा विवादका कारण जग्गा प्राप्ती हुन नसक्दा काम रोकिएको थियो ।
‘गाउँपालिकामार्फत सरकारी जग्गा प्राप्तीपछि काम सुरु भएको हो’ उनले भने ‘निसीखोलामै पर्नेगरी टावर निर्माण हुन्छ ।’ तिलाचनको धुरीमा टावर बनेपछि ढोरपाटन घुम्न जाने पर्यटकको लागि ‘फोर जी’सहितको सञ्चार सञ्जाल उपलव्ध हुने गाउँपालिका अध्यक्ष पौडेल बताउँछन् । तीन जिल्लाका तीनवटै गाउँपालिकामा सहज सञ्चार पुग्नेगरी टावरमा राखिने डापलको डिजाईन गरिएको छ ।
‘हामीले एन्टेना तीनतिर फर्काउने योजना अघि सारेका छौं’ इञ्जीनियर शर्मा भन्छन् ‘ग्राहकलाई समान सुविधा हुने गरी सेवा उपलव्ध हुने छ ।’ बागलुङको निसीखोलामा भन्दा रुकुमको भुमे र रोल्पाको सुनछहारीका सर्वसाधारण बढी लाभान्वित हुने उनले बताए ।
यस्तै, नेपाल टेलिकमले गलकोट नगरपालिका वडा नं ९ देउपुर डाँडामा रहेको मोवाइल टावरको स्तरोन्नति गरेको छ । टेलिकमले ग्रामीण क्षेत्रमा मोवाइल डाटा सहजै उपलब्ध गराउने उद्देश्यले बिहिबारदेखि तेस्रो पुस्ताको थ्रीजी सेवा विस्तार गरेको नेपाल टेलिकम वरिष्ठ इन्जिनियर शर्माले बताए ।





