बागलुङ, १९ असोज– नेपाली कांग्रेस केन्द्रीय समितिले बागलुङ नगरपालिका वडा नं. ११ का अध्यक्ष ज्ञानेन्द्र गौतमलाई कोभिड १९ संक्रमण सूचना जिल्ला संयोजकमा मनोनयन गरेको छ ।
गत भदौ ८ गते बसेको बैठकको निर्णय अनुसार गौतमलाई मनोनयन गरिएको पत्र हात परेको गौतमले बताए । अनुगमन समितिका संयोजक एवं सहमहामन्त्री डा. प्रकाश शरण महतले हस्ताक्षर गरेको पत्रमा गौतमलाई जिल्लामा भएका कोरोना संक्रमण, रोकथाम र संक्रमणले पारेको प्रभावको बारेमा नियमित रिर्पोटिङ गर्न खटाइएको हो । कांग्रेसको केन्द्रीय अनुगमन समितिलाई जिल्लाबाट गौतमले सूचना संप्रेषण गर्नुपर्ने छ ।
उनले जिल्लामा कोभिड १९ को संक्रमणको अबस्था, आइसोलेसन र क्वारेन्टाइन व्यवस्थापनको व्यवस्थापन बारे रिर्पोटिङ गर्नुपर्ने छ । लकडाउन र निशेधाज्ञाले पारेको प्रभाव बारे उनले जानकारी दिनुपर्ने उल्लेख छ । उनले सरकारी तहबाट भएका रोकथामका कामको मूल्यांकन गर्ने र राजनीतिक दल, सामाजिक संघसंस्थाले कोरोना नियन्त्रणमा खेलेको भूमिका पनि उनले अनुगमन गरेर प्रतिवेदन पठाउन पाउने व्यवस्था गरिएको हो ।





