म्याग्दी, २१ असोज– म्याग्दीमा कोभिड–१९ को लक्षण देखिएका संक्रमित भेटिन थालेका छन् । घर विदामा काठमाण्डौ गएर फर्किएका नेपाली सेनाका जुनियर अधिकृतमा रुघाखोकी र ज्वरो देखिएपछि स्वास्थ्यकर्मीको टोलीले स्बाब संकलन गरी पिसिआर परीक्षणको क्रममा पहिलोपटक म्याग्दीमा लक्षण सहितको संक्रमित भेटिएको हो ।
जिल्लामा हालसम्म निको भएका र आइसोलेसन कक्षमा रहेका ४ जना संक्रमित लक्षण नभएका पाइएको अवस्थामा काठमाण्डौबाट आएका श्रीबक्स गुल्ममा कार्यरत नेपाली सेनाका लक्षण सहितका संक्रमित देखिन थालेपछि देशभित्रबाटै आवतजावत गर्नेहरुबाट कोरोना समुदायमा फैलिने जोखिम बढेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए ।
छिमेकी राष्ट्र भारतसँग सिमाना जोडिएको तराईका जिल्ला र समुदायमै कोरोना फैलिएको काठमाण्डौ उपत्यकाबाट आउनेमा लक्षण देखिएको कोभिड–१९ कमाण्ड पोष्टका सदस्य सुरत केसीले जानकारी दिए । नयाँ संक्रमितमा लक्षण देखिन थालेपछि अब काठमाण्डौबाट आउने यात्रुलाई मालढुंगा आसपासबाटै कडा निगरानीका साथ होल्डिङ सेन्टरमा ल्याउनुपर्ने केसीको भनाई छ ।
‘पहिले देखिएका संक्रमितमा लक्षण देखिएको थिएन, लक्षण देखिएका संक्रमित भेटिन थालेपछि सतर्कता अपनाउनुपर्छ, बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले भने । दशैंतिहारमा काठमाण्डौलगायतका जिल्लाबाट ठूलो संख्यामा भित्रिने गरेकाले समुदायमा कोरोना फैलिने जोखिम उच्च रहेको छ ।





