काठमाण्डौ, २३ असोज– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प कोरोना संक्रमणमुक्त भएका छन् । उनको उपचारमा संलग्न चिकित्सकहरुले ट्रम्प पूर्णरुपमा कोरोना संक्रमणमुक्त भइसकेका र भोलिसम्ममा सार्वजनिक काममा फर्किन सक्ने बताएका छन् । डा. सेन कोन्लीले ट्रम्प पूर्णरुपमा निको भएको र उपचारको क्रम भने चलिरहेको बताएका छन् । ट्रम्पले आज पुनः कोरोना परीक्षण गराउने छन् । यसअघि चार दिन सैन्य अस्पतालमा उपचार गराएर ट्रम्प ह्वाईट हाउस फर्किएका छन् । आगामी नोभेम्बर ३ मा राष्ट्रपतीय निर्वाचन हुँदैछ । ट्रम्प केही दिनमै चुनावी प्रचारप्रसार कार्यक्रममा सहभागी हुने तयारी गरेका छन् । निर्वाचनअघि हुने राजनीतिक बहसमा उनी आगामी हप्ता सहभागी हुने कार्यक्रम छ । आयोजकहरूले अक्टोबर १५ मा हुने वहसमा संलग्न सबैको ‘स्वास्थ्य र सुरक्षाको निम्ति’ दुवै प्रतिस्पर्धीलाई फरक–फरक स्थानबाट सहभागी गराइने बताएका छन् । त्यसबाट आक्रोशित राष्ट्रपति ट्रम्पले फक्स बिजनेश च्यानललाई दिएको फोन अन्तर्वार्तामा समय खेर फाल्न आफू त्यसमा सहभागी नहुने बताएका छन् । ट्रम्पको प्रतिक्रियापछि आगामी हप्ताको बहस कसरी चल्छ भन्नेमा भने अन्योल देखिएको छ । रिपब्लिकन पार्टीका तर्फबाट आगामी कार्यकालका लागिसमेत उम्मेदवार रहेका ट्रम्प डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनसँग भिड्दै छन् ।





