पोखरा, २४ असोज– कास्की निर्वाचन क्षेत्र नम्बर २(क) बाट गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने सभासद कृष्ण थापाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत् सम्पन्न भएका परियोजनाहरुको फेहरिस्त पेश गरेका छन् । उनका अनुसार सो कोषबाट आर्थिक वर्ष २०७६÷०७७ मा २५ वटा विभिन्न परियोजना सम्पन्न भएका छन् । ती परियोजनाहरु बाटो निर्माण, खानेपानी, ढल एवं आमा समूहहरुको भवन निर्माणसँग सम्बन्धित रहेका छन् । उनले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यालय स्थापना गरि विकास निर्माणका काम अघि बढाएको जानकारी पनि दिए ।
उनले कोरोना महामारीसँग जुध्नको लागि आफ्नो २ महिनाको सुविधाबापत् प्राप्त हुने रकम गण्डकी प्रदेश सरकारलाई तथा ५० हजार पोखरा महानगरलाई प्रदान गरेको जनाए । उनले गण्डकी प्रदेशसभाका १७५ बैठकमध्ये १७४ मा उपस्थिति जनाएको, कार्यव्यवस्था समितिका ९२ बैठकमध्ये ८९ वटा तथा प्रदेश मामिला समितिको २९ मध्ये २७ बैठकमा उपस्थित भएर आफ्नो सक्रियता पुष्टि गरेको जिकिर पनि गरे ।
२०७४ साल मंसिर १० गतेको निर्वाचनको क्रममा आफूले व्यक्त गरेका प्रतिवद्धता अनुरुप नै विकास निर्माणका काम अघिबढाएको उनको जिकिर छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत् प्राप्त भएको रकमबाट आर्थिक वर्ष २०७५÷०७६ मा १५ वटा परियोजना सम्पन्न भएका छन् । ती परियोजनामध्ये धेरैजसो पूर्वाधारसँग सम्बन्धित छन् । यसैगरि लिफ्टि खानेपानी परियोजनाहरुमा पनि सो कोष खर्च भएको छ । सो निर्वाचन क्षेत्रमा आर्थिक वर्ष २०७६÷०७७ मा प्रदेशको वार्षिक विकास कार्यक्रममार्फत् ३५ वटा परियोजना संचालनमा आएको एवं प्राधिकरणबाट १७ वटा विकास निर्माणका काम भइरहेको छ । उनले प्रतिवद्धता अनुसारका १३ वटा परियोजनाको काम भइरहेको जिकिर पनि गरे ।




