बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

‘शारीरिक उपचार खोज्छन् मानसिक रोगी’

‘शारीरिक उपचार खोज्छन् मानसिक रोगी’


  • ढोरपाटन संवाददाता
  • असोज २७ २०७७, मंगलबार

बागलुङ, २७ असोज– कोरोना संक्रमणको समयमा गत चैतदेखि अहिलेसम्म ६ सय ३६ जनाको मृत्यु भएको छ । तर यो समयमा २ हजार ५ सयबढीले आत्महत्या गरेका छन् ।
यो तथ्यांकले मात्रै रोगले मृत्यु हुनेको संख्याभन्दा आत्महत्या गर्ने ४ गुणा बढी देखिए । यसरी मृत्यु हुनेको सरकारी विश्लेषण त भएको छैन, तर अधिकांसको मानसिक तनाव र हिंसालगायतका घटनाको कारण भने खुलाइएको छ ।
मानसिक रोग विशेषज्ञ डा. धिरेन्द्र पौडेल भन्छन्, ‘समस्याको मुल जरो पत्ता लाग्यो भने मात्रै मानसिक रोगलाई सामान्य अवस्थामा फर्काउन सकिन्छ ।’ औषधि खुवाएर थोरै निको हुन्छन् भने मनोसामाजिक विमर्शबाट धेरै निको हुने उनले बताए । केही मानिसको समस्या भने जटिल प्रकारको भैसकेकाले निको बनाउन नसकिने अनुभव उनले सुनाए । मासिक ३ पटकभन्दा बढी टाउको दुखेर औषधि खाने अवस्था आउनुसमेत मानसिक समस्याको कारण हुने उनले बताए ।
‘महिनामा तीनपटकसम्म टाउको दुखेको औषधि खाइन्छ भने त्यसले मृगौलामा समस्या पार्छ, बरु मानसिक रोग सम्बन्धी औषधि खाएमा साइट इफेक्ट गर्दैन’ उनले भने, ‘योगा, धार्मिक भजनकृतन र अन्य शारीरिक व्यायाम गर्न लगाएर निको पार्न सकिन्छ ।’ उनले कोरोना संक्रमण अघि र पछिको मानसिक समस्याका बिरामी तीन गुणा बढेको बताए ।
धौलागिरी अस्पतालमा आउने बिरामीको संख्या हेर्दा कोरोना संक्रमणअघि दैनिक एकदुइ जना मात्र रहेकोमा अहिले ५ देखि ६ जनासम्म पुगेको बताए । कतिपय बिरामी अन्य विषयका डाक्टरको उपचारमा समेत पुग्ने गरेका हुन् । टाउको दुख्ने, मुटु र पेट सम्बन्धी रोग भन्दै जानेमा समेत मानसिक समस्या देखिने अध्ययनले देखाएको उनले बताए ।
स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौको अनुभवमा २५ वर्ष काटेको हरेक मानिसमा मानसिक समस्या हुने गरेको छ । ‘बिहानको सानो समस्याले दिनभर मानिस तनाबमा हुन्छ’ गुरौले भने, ‘त्यही तनावले उसको दैनिकी बिग्रन्छ ।’ यस्ता तनावहरु थपिने र नियमित काममा अवरोध आउनुलाई मानसिक रोगको रुपमा लिन सकिने उनले बताए ।
कोरोना संकटको समयमा भने ६ वर्षका बालबालिकासमेतलाई मानसिक समस्या परेको स्वास्थ्यकर्मीहरुको अनुभव छ । यो समयमा बालबालिकाको दैनिकी फेरिनु, पढ्ने खेल्ने वातावरण नमिल्नु, घरभित्र बस्नुपर्ने बाध्यताले पनि मानसिक समस्या पार्ने गरेको हो ।
त्यस्तै कोरोनाको संक्रमण हुन्छ की भनेर डाराउने प्रवृत्ति, स्वाब संकलन गरेर रिपोर्ट आउने बेलासम्मको कुराइ र पोजेटिभ आएमा आइसोलेसनको बसाई र सो समयमा परिवारका सदस्यमा पर्ने तनावले मानसिक रोग बढाएको अनुमान छ । कतिपय क्वारेन्टाइन र आइसोलेसनमा समेत आत्महत्या गर्न खोज्नेहरु देखिनुमा मानसिक समस्या अधिक भएको गुरौले बताए ।
बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले एक्लै बस्दा फरक गतिविधि गरेर बस्ने आफ्नो बानीसमेत मानसिक समस्या हुन सक्ने आशंका व्यक्त गरे । विश्व मानसिक रोग दिवशको अवसरमा स्वास्थ्य कार्यालय बागलुङ र नगरपालिकाले अन्तरक्रिया गर्दा सहभागिले पनि आफ्नो समस्या बताएका थिए । उनीहरुले बताएका समस्या प्रारम्भिक चरणको हुन सक्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।
बागलुङ नगरपालिका स्वास्थ्य शाखा संयोजक रामप्रसाद खनालले चिन्ता, दिग्दारी र मनोविकृतिजस्ता समस्याबाट मानसिक रोग बढ्ने बताए । मानसिक स्वास्थ्य दिवशको अवसरमा बागलुङ नगरपालिका वडा नं. ३ की अध्यक्ष लक्ष्मी बाँस्कोटा, पत्रकार महासंघका सचिव राम थापा अबिरल लगायतका सहभागिले राज्यलेपनि मानसिक स्वास्थ्यको निदानमा लगानी बढाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->