बागलुङ, २८ असोज– कोरोना भाइरसको संक्रमणका कारण बागलुङमा थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि चरक मेमोरिय अस्पताल पोखराको आइसोलेसनमा उपचाररत बागलुङ नगरपालिका वडा नं. २ का ७७ वर्षिय वृद्वको बुधबार दिउँसो १२ बजेर १० मिनेट जाँदा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । कोरोना संक्रमितमा वृद्वमा मधुमेह, उच्च रक्तचाप र मुटु सम्बन्धि समस्या रहेको निर्देशनालयले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । गत आइतबार कोरोना संक्रमण पुष्टि भएपछि ती वृद्व अस्पतालमा भर्ना भएका थिए । बागलुङका वृद्वको ज्यान गएसंगै गण्डकी प्रदेशमा कारोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४६ पुगेको छ । यसअघि बागलुङको निसीखोला गाउँपालिकाका एक जनाको कोरोना संक्रमणका कारण ज्यान गएको थियो । उनी पनि दीर्घ रोगी थिए ।





