बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

चेतनाका भित्ते संवाहकहरु !

चेतनाका भित्ते संवाहकहरु !

प्रकृति र वनस्पतिबारे आफूले पाएको जानकारी पस्किँदा सरल देखिने सिग्देल राजनीतिक विसंगतिप्रति भने धेरैजसो लाक्षणिक भइदिन्छन् ।


  • ढोरपाटन संवाददाता
  • असोज २९ २०७७, बिहिबार

पोखरा, २९ असोज– पोखराको चर्चित मियाँपाटननेर पर्ने कुँडहरका बासिन्दा हुन्, विश्व सिग्देल ।नामको अगाडि ‘विश्लेषक’को फुर्को झुण्डाइदिँदा उनी आपत्ति मान्दैनन् । पुराना सहकर्मीहरुले क्रान्ति, थिति र नियतिको चर्चा गर्दा उनी शान्त बनिदिन्छन् । ‘तिमी त यस्तो हुनुपर्ने भन्दै कसैले अतृप्त सपना (?) सम्झाइदियो भने चाहिँ उनी मखरित हुन्छन् । अनि भन्छन्,‘हाम्रो पालो सकियो अब गर्ने नयाँले हो ।’ आफूकहाँ पुग्नेसँग मज्जाले गफिने, बोट,  झार र संस्कृतिलाई माया गर्नु उनको विशेषता हो । आफूलाई मन पर्ने विषयमा अकाट्य तर्क राख्नु उनको खुवी हो ।
उनीभन्दा अलिकति फरक खालका अर्का पात्र छन् , अनिल सुवेदी । सितलादेवीको ढोकैमा घर हुने यी डाक्टर साबले लामो समय जागिर खाए । कृषि वैज्ञानिकको रुपमा प्राज्ञिक र अनुसन्धात्मक कामहरु गरे । रिटायर्ड जीवनमा रहेका उनी कहिले आध्यात्मिक लाग्छन्, कहिले विश्वजस्तै ‘नोष्टाल्जिक’ बनिदिनन्छन् ।बिग्रँदो वातावरण, संस्कृतिप्रति असन्तुष्टि जनाउँछन् । आफ्नै वरपर भएका झार, बोटविरुवाको महत्वबारे कुरा गरिरहन्छन् । कहिले बरपिपल मासिएकोमा चिन्ता जताउँछन्,कहिले पुराना सम्पदा खण्डहर भएकोप्रति सरोकारवालाहरुलाई झक्झकाउँछन् । जीवन र जगतका कुरा गर्छन् । समग्रमा ज्ञान बाँड्न रुचाउँछन् ।
दुबैको साझा विशेषता भनेको के हो भने, मनमा लागेका कुरा सामाजिक सञ्जालमा व्यक्त गर्छन् । दुबैजना चल्तीको सामाजिक सञ्जाल फेसबुक चलाउँछन् । आफूलाई लागेको विषयमा तथ्यसहित जानकारी दिन्छन् । कहिलेकाहिँ राजनीतिक टिप्पणी पनि गर्छन् र विकृतिप्रति आपत्ति जताउँछन् । तर, खासमा उनीहरु दुबै ज्ञानगुनका कुरा बाँड्छन् ।
विश्व सिग्देलले हालै आफ्नो वालमा सिउँडीको तस्वीरसहित लामो स्टाटस् लेखे । स्टाटस्मा बूढ्यौलीमा आफन्त पराई हुँदाको बखत् सम्झेर अहिल्यै घर वरीपरी सानो फुड फरेष्ट (फुड गार्डेन हैन ) बनाउने आग्रह थियो । विभिन्न वनस्पति,फूलबारे जानकारी चाहियो भने विश्व सिग्देल र अनिल सुवेदीको फेसबुक चहारे हुन्छ । ती वनस्पति रोप्ने तरिका, त्यसबाट पाइने फाइदा सबै त्यहीँ हुन्छ ।
त्यसो त सिग्देल आफूले विदेश यात्राको क्रममा देखेका/सिकेका कुराहर पनि सामाजिक सञ्जालमार्फत् नै बाँड्छन् । नेपालमा विकासको नाममा ऐतिहासिक सम्पदाहरु मास्ने, बाटो चाक्लो बनाउने नाममा चौतारा भत्काउने प्रवृत्तिका विरोधी सिग्देलले लण्डनको पुरानो टेलिफोन बुथको फोटोसहित व्यंग्य गर्दै लेखेका छन् ,‘
यो विश्वकै पहिलो सार्बजनिक टेलीफोन बुथ हुनुपर्छ । आफ्नै नागरिक ग्राह्म बेलले आविष्कार गरेपछि पहिलो बुथ निः सन्देह टेन डाउन स्ट्रिटको केन्द्रमा हुने भयो , जस्को आसपास संसद भवन, प्रधानमन्त्री कार्यालय ,बकिङघम राजदरबारलगायत सम्पूर्ण राजनीति केन्द्रीत छ ।
ब्रिटिस साम्राज्यको हृदयस्थलमा रहेको यो सडक असाध्यै साँघुरो छ । पुराना रुखहरु , ऐतिहासिक व्यक्तित्व र घटनाहरुका मूर्तिहरु ,यही टेलीफोन बुथ समेतले साँघुरो र अटेसमटेस बनाएको यो बाटोका रुख, मूर्ति बुथजस्ता पत्रु सामान हटाएर चाक्लो किन नबनाएका होलान ? कुनै कुनै अर्तिबुद्धि त हामीसँग लिए हुन्यो नि ।’
राजनीतिक र समाजका विविध आयामबारे चर्चा गर्दा तथ्यमा अडिन्छन्, सिग्देल । नेपालको मुस्लिम सभ्यताबारे पनि यी यदाकदा लेखिरहन्छन् । प्रकृति र वनस्पतिबारे आफूले पाएको जानकारी पस्किँदा सरल देखिने सिग्देल राजनीतिक विसंगतिप्रति भने धेरैजसो लाक्षणिक भइदिन्छन् । उनी शास्त्रको कुनै प्रसंग उप्काउँछन् अनि त्यसलाई वर्तमानसँग जोडेर झटारो हानिदिन्छन् । त्यो चोटिलो झटारोको जो–कोहीले सायदै प्रतिवाद गर्छन् । यो उनको विशेषता हो । प्रजातान्त्रिक समाजवादप्रतिको आस्थाले यिनको मनमै जरो गाडेको हुनुपर्छ ! करेसाबारीमा रमाउने सिग्देल त्यो बेला चाहिँ विद्रोही नायकजस्ता देखिन्छन् । त्यसअघि उनले डाक्टर गोविन्द केसीको सत्याग्रहप्रति राज्यले देखाएको व्यवहारप्रति असन्तुष्टि पोख्दै केसीलाई ‘अजेय योद्धा’ घोषणा गरिदिए ।
यता, अनिल सुवेदीलेसन् २०२०÷०२१मा नेपालको आर्थिक बृद्धिदर ०.२ प्रतिशत हुने विश्व बैंकले सार्वजनिक गरेको तथ्य प्रस्तुत गर्दै भने,‘ स्थिति यस्तै नरहला तर आउँदा २–३ वर्षमा कसरी आर्थिक विकास गरिनुपर्छ, मारमा परेका बिपन्न परिवार, कृषकवर्ग र न्यून आय भएकाहरुको लागि नेपाल सरकारले उचित रणनीति, कार्ययोजना र कार्यक्रमहरु ठोस रुपमा ल्याउन सकेको छैन । यसबाट ती वर्गका जनता झनै मार मा पर्नेछन् । कम्युनिटहरु न्यून बर्गका जनताको उत्थानको लागि हो भन्थे । लौन नेपालको कम्युनिस्ट सरकार, त्यस्ता जनताका लागि के गर्दैछौ ?’ यो उनको समयचेत थियो, देशप्रतिको माया थियो ।
खासमा उनी पनि वनस्पति र फूलमै बढी रुचि देखाउँछन् । घरको गमलामा रोपेको जंगली धानको फोटो पोष्ट गर्छन् । त्यो फल्छ कि फल्दैन अनि त्यसबाट नयाँ जात विकास गर्न सकिन्छ कि भन्ने विषय उप्काउँछन् । घर परिसरमा रहेको समी,रोपिएको रुद्राक्षबारे जानकारी पस्कन्छन् । उनले वनस्पतिको उपयोगिताबारे पस्कने जानकारी कतिसम्म उपयोगी छ भने त्यसलाई नै समेटेर भारत बस्ने एक शुभेच्छुकले एउटा भिडियो क्लिप्स नै बनाइदिएका छन् । अनिलले कोइरालोको उपयोगिताबारे राखेका स्टाटस् अध्ययन गरेर भारत उत्तराखण्ड पिठौरागढका आयुर्वेदिक अस्पतालका प्रमुख डा. रुचिता अभिश उपाध्यायले त्यो प्रवद्र्धनात्मक भिडियो क्लिप बनाएकी हुन् ।
बहुआयामिक लाग्छन्, डाक्टर अनिल । कृषिका ज्ञाता भएकाले रुख विरुवाबारे उनी बोल्ने नै भए । कहिलेकाँहि छोटा कविताबाट पनि केही बोलिदिन्छन् । पढाईमा अब्बल उनले स्वर्गीय राजा भेटेका छन् । बेलायती युवराज चाल्र्ससँग जागिरेक्रममा छलफल गर्ने अवसर पाएका छन् । मौषमी फलफूल, बालीनाली अनि चाडपर्वका सांस्कृतिक पक्ष पनि उनका रुचिका विषय हुन् । फोटोग्राफीका सौखिन तथा संसारका धेरै देश घुम्दाका अनुभव सुनाउँदा, आफूले पाएका पुरस्कारका पुराना तस्वीर देखाउँदा उनी घमण्डी फिटिक्कै लाग्दैनन् ।
पोखराको तालमा बाहिरिया माछा छाड्दा त्यसले रैथाने माछा मासिनेमा उनी चिन्तित छन् । जैविक विविधता संरक्षणका अभियानकर्ता उनी लेख्छन्, ‘मैले विगतमा भनेको पनि छु र सामाजिक सञ्जालमा पोष्ट पनि गरेको छु ,बंदेलजस्तो बोसोयुक्त माहुर माछा हाम्रा ताल तलैयामा अत्याधिक देखिएका छन् । यस मांसाहारी प्रजातिको माछाले तालमा हुने रैथाने अन्य जीव खाइदिने ठ्ूला आकार हुने यो जातको माछाले भविष्य मा समग्र ताल मा आफ्नो हैकम जमाउँदा सिमसार क्षेत्रका रैथाने जीव,पंक्षि लोप हुने नै छ ,यसको नियन्त्रण को लागि पोखराको कुनै पनि तालमा यो माछा ताल खोलामा छाड्नेलाई कडा कार्वाही गरिनुपर्छ ।’
यी दुबै गज्जबका मान्छेको ‘फ्यान फ्लो’ खासै बढी छैनन् । तर, अभियन्ताको रुपमा दुबै सम्मानित छन् । दुबैको कुरा सुनिन्छ । अरुले सुनून् कि नसुनून् ! उनीहरु निष्काम कर्म गरिरहन्छन्, मनको कुरा सुनाइरहन्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->