काठमाडौं, २ असोज– संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले संचार क्षेत्रमा देखिएका समस्या समाधानका लागि तत्काल पहल थाल्ने बताएका छन् ।
नवनियुक्त मन्त्री गुरुङले कोरोना भाईरसका कारण पत्रकारहरुले ठूलो समस्या भोग्नुपरेको भन्दै ती समस्या समाधानका लागि नेपाल पत्रकार महासंघलगायतका सरोकारवालासँग तत्काल छलफल थाल्ने उल्लेख गरेका छन् ।
नेपाल पत्रकार महासंघका पदाधिकारीसँग आईतबार बिहान पुल्चोकस्थित मन्त्री निवासमा कुराकानी गर्दै उनले महासंघलगायतका सरोकारवाला पक्षसँग छलफल र सहकार्य गरेर मात्रै संचार क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्ने स्पष्ट पारे ।
‘संचार क्षेत्रमा देखिएका समस्याको समाधान सरोकारवाला पक्षसँग छलफल र सहकार्य गरेर मात्रै गरिनेछ,’ मन्त्री गुरुङले भने, ‘त्यसका लागि नेपाल पत्रकार महासंघसहितका सम्बन्धित पक्षले आवश्यक सहयोग पु¥याउने विश्वास लिएको छु ।’
भेटमा महासंघका अध्यक्ष गोविन्द आचार्यले मन्त्री गुरुङको कार्यकालको पूर्ण सफलताको कामना गर्दै कोरोना भाईरसका कारण पत्रकारहरुले भोग्दै आएका समस्या, श्रमजीवि पत्रकार ऐनको पूर्ण कार्यान्वयन, संघीयता अनुकूल हुने गरी संचार क्षेत्रको पुनर्संरचना गर्न ढिलाई नगर्न ध्यानाकर्षण गराए । जवाफमा मन्त्री गुरुङले संचार क्षेत्रमा देखिएका समस्या सरोकारवाला निकायसँग छलफल गरेर मात्रै समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे ।





