सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

दशैंलाई कोसेली भाँगो र स्याउ

दशैंलाई कोसेली भाँगो र स्याउ

यो वर्ष बागलुङ, कुश्मालगायतका बजारमा ढिलो गरि आएको मुस्ताङको स्याउ, आलु र बागलुङको भाँगो धेरैको खोजीमा पर्ने गरेको छ ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक ४ २०७७, मंगलबार

बागलुङ, ४ कात्तिक– बागलुङ नगरपालिकाको प्राविधिक शाखामा कार्यरत त्रिलोचन गिरी कार्तिक ६ गतेसम्म कार्यालयको काम सकेर दशै मनाउन पोखरास्थित घरमा जाँदैछन् । बिदा हुने दिन आउन केही समय बाँकी रहँदा गिरीले दशैंको कोसेलीको जोहो गरिसके ।
काम सकिएको भोलिपल्टै हिँड्नुपर्ने भएकाले उनले दशैंमा घर जाँदा लैजाने कोशेली अहिले देखिनै जम्मा गर्न थालेका छन् । बजारमा पाउने सबै चिज उनले पोखरामै किन्छन् तर घरपरिवारको समेत चाहना स्थानीय उत्पादन ल्याए हुन्थ्यो भन्ने छ । त्यसैले बागलुङमा पाउने भाँगो उनले केही दिन पहिलै किनेका छन् । अहिले उनलाई मुस्ताङको स्याउ र आलु खोज्ने चटारो छ ।
पर्वतमा रहेको व्यवसायीक तथा सिप विकास तालिम केन्द्रमा काम गर्ने बिना शर्मा दशैं मनाउन काठमाण्डौ जाँदैछिन् । दशैं बिदामा काठमाण्डौ पुग्दा छोरा बुहारीले ल्याएको स्याउ, भाँगो र आलुको स्वाद उनका सासुससुराले भुलेका छैनन् । गिरीले जस्तै शर्माले पनि भाँगो र स्याउको कोशेली पोको पारिन् ।
यो वर्ष बागलुङ, कुश्मालगायतका बजारमा ढिलो गरि आएको मुस्ताङको स्याउ, आलु र बागलुङको भाँगो धेरैको खोजीमा पर्ने गरेको छ । ‘दशैंमा मुस्ताङको स्याउ भन्ने चलन छ, कोशेली त्यहि हो मेरो’ गिरी भन्छन् ‘अचार खाने भाँगो त छुटाउनै भएन ।’ गिरी घर जाँदा मुस्ताङको स्याउ र बागलुङको भाँगो बोकेर गएभने छिमेकीले गाली गर्छन् । उनी भन्छन्– ‘सबैले आश गर्छन्, छिमेकीको चित्तबुझ्ने गरेर लैजानै पर्छ ।’ गिरी र शर्मा जस्तै बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङबाट जिल्ला बाहिर जानेको दशैं कोशेली मुस्ताङको स्याउ हो ।
‘दशैंपछि मुस्ताङको स्याउको माग घट्छ, यो बेला स्याउ खोज्नेको ठुलै समुह छ’ बागलुङ बजारमा फलफुलको होलसेल कारोवार गर्ने मधु क्षेत्री भन्छन् ‘पोहोरभन्दा आधा माग घटेको छ, तर अरु फलफुलको तुलनामा मुस्ताङको स्याउको माग बढी छ ।’ बागलुङ बजारमा मुस्ताङको स्याउ १ सयदेखि २ सय ५० रुपैयाँ किलोसम्ममा बिक्रि हुने गरेको छ । ‘रोजाको मुल्य बढी छ, छाँटेर छोडेका सस्तोमा बेच्नुपरेको छ’ क्षेत्रीले भने ‘दशैं आएको आभाष मुस्ताङको स्याउले गराउँछ ।’
कोशेलीका लागि स्याउ, भाँगो र आलु खोज्न आउनेहरुले अन्य समयको तुलनमा कम मोलमोलाई गर्ने गरेको अनुभव व्यवसायीहरु सुनाउँछन् । पर्वको समयमा खोजी हुने स्थानीय उत्पादनले व्यवसायी र उपभोक्ता सबैलाई सन्तुष्टि दिने गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->