बागलुङ, ७ कात्तिक– रोजगारीको शिलशिलामा बेलायतमा रहेका नेपालीहरुले धौलागिरी अस्पताल बागलुङलाई अक्सिजन मेसिन सहयोग गरेका छन् ।
कोरोना महामारीको समयमा अक्सिजनको कमीका कारण बिरामीको मृत्यु हुनसक्ने भन्दै अभाव टार्न अक्सिजन उत्पादन गर्ने मेसिन सहयोग गरेका हुन् । उनीहरुले २ लाख मुल्य पर्ने मेसिन अस्पताल व्यवस्थापन समितिको नाममा पठाएका छन् ।
बागलुङको काठेखोला गाउँपालिका कर्लिम घर भई बेलायतमा रहनुभएका गैर आवासिय नेपाली संघ युकेका उपाध्यक्ष एवम् नेपाल पत्रकार महासंघ बागलुङका पुर्वअध्यक्ष नारायणदत्त कँडेलको पहलमा रकम संकलन भएको थियो । सोही रकमबाट मेसिन किनेर अस्पताललाई पठाईएको कँडेलले बताए ।
मेसिन अस्पतालमा आईपुगेको धौलागिरी अस्पताल बागलुङ व्यवस्थापन समितिका अध्यक्ष केबीराना मगरले जानकारी दिए । अक्सिजनको अभाव पुरा गर्न मेसिन सहयोगी बन्ने भन्दै अध्यक्ष रानाले कोरोना महामारीले निम्त्याएको संकटको बेला बेलायतमा बस्ने नेपालीले गरेको सहयोग प्रशंसनिय रहेको बताए ।
नर्थन आयरल्याण्डमा बस्ने नेपालीहरुले एकआपसमा सहयोग संकलन गरी ३ हजार चार सय एकानब्बे पाउण्ड अर्थात् ५ लाख २५ हजार नेपाली रुपैयाँ जम्मा गरेर मेसिन पठाईएको कंडेलले जानकारी दिए ।
बेलायतका अस्पताल तथा स्वास्थ्य संस्थामा समेत प्रयोग भैरहेका उच्च प्रविधीयुक्त ति मेसिनहरु कोरोना भाइरसका बिरामीलाई अक्सिजन दिनका लागि अत्यन्तै प्रभावकारी मानिने भएकाले महामारीको समयमा थोरै भएपनि राहत मिलोस भनेर सहयोग गरिएको कंडेलको भनाई छ ।
अक्सिजन मेसिन यसअघि चितवन र दोलखा अस्पतालमा हस्तान्तरण गरिसकिएको छ । बेलायतको नर्थन आयरल्याण्डमा बस्ने नेपालीहरुले नेपालमा कोरोना भाइरसका विरामीको उपचारका लागि नेपालका विभिन्न अस्पतालमा स्वास्थ्य उपचार सामाग्री अक्सिजन मेसीनहरु उपलब्ध गराएका छन् ।





