काठमाडौं, १० कात्तिक – प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष विजया दशमीको दिन टीका लगाएनन् । बुबा मोहनप्रसाद ओली झापामा भएकाले उनले यस वर्ष टीका लगाउन नपाएका हुन् । सोमबार विजया दशमीको दिन प्रधानमन्त्री निवास बालुवाटारमा उनले पत्नी राधिका शाक्यलाई भने टीका लगाइदिए । त्यसबाहेक बालुवाटारमा अरु टीकाको कार्यक्रम नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दसैंको टीका
राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण गरेकी छन् । उनले १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गरेकी हुन् । राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट पनि राष्ट्रपति कार्यालय, शीतल निवासमा विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेको राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिए ।
सो अवसरमा राष्ट्रपति भण्डारीले छोरीज्वाइँहरु उषाकिरण, निशाकुुसुम, उमेश थापा र अभिषेक यादव तथा दुई नातिनी एवं पाश्र्ववर्तीहरुलाई पनि टीका लगाइदिएकी थिइन् ।





