तनहुँ, १३ कात्तिक– दशैँको विदा सकिएलगत्तै बुधबारदेखी सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्थाहरु खुलेर सेवा दिन थालेका छन् । कोरोना भाईरसको कहरले तनहुँका दुई स्थानिय तह भने बन्द छन् । बन्द रहेका व्यास नगरपालिका र म्याग्दे गाउँपालिका आईतबारदेखी खुल्ने जनाइएको छ ।
नगरपालिकाका कर्मचारीलाई समेत कोरोना संक्रमण पुष्टी भएपछि दशैँ विदासंगै ३ दिन कार्यालय बन्द गरिएको व्यासका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देलले बताए । नगरपालिकाका १४ वटै वडा कार्यालय समेत बन्द छन् ।
‘अत्यावश्यक बाहेकका सबै सेवा बन्द छन्’, उनले भने, ‘आईतबारदेखी नियमित सेवा सुचारु हुन्छ ।’ सिग्देलका अनुसार हाल स्वास्थ्य र सरसफाईको सेवा मात्रै प्रवाहा भइरहेको छ ।
समाचर तयार पार्ने बेलासम्म व्यास नगरपालिकामा नगरप्रहरी, स्वास्थ्यकर्मी, इञ्जिनियर लगायत १३ जना कर्मचारी सहित २ सय ५३ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । तीमध्ये ६ जना कर्मचारीसहित १ सय ४४ जना निको भइसके ।
यस्तै, म्याग्दे गाउँपालिकाको पनि आईतबारसम्म सेवा बन्द छ । गाउँपालिकाको कार्यालय र ७ वटै वडा कार्यालय बन्द रहेको गाउँपालिकाका सुचना अधिकारी बुद्धीसागर खनालले जानकारी दिए । गाउँपालिकामा कार्यरत १ जना सवारी चालकलाई कोरोना पोजेटिभ देखिएपछि जोखिम बढेकाले सेवा बन् बन्द गरेको उनी बताउँछन् ।
बुधबार ती सवारी चालकको सम्पर्कमा आएका ५ जना सहित ११ जनाको स्वाब संकलन गरी पिसीआर परिक्षण गर्न पोखरा पठाईएको छ । म्याग्देमा हालसम्म ४१ जनालाई कोरोना संक्रमणको पुष्टी भएको स्वास्थ्य शाखाले जनाएको छ । तीमध्ये ३४ जना निको भईसकेका छन् । सवारी चालकको सम्पर्कमा आएका जनप्रतिनिधी र कर्मचारीलाई कोरोना पुष्टी भएमा म्याग्देको सेवा बन्द अझ लामो समय हुने सम्भावना देखिन्छ ।





