मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

संघीय सांसदहरूलाई परिमार्जित लोगो, ८७ ग्राम सुन प्रयोग

संघीय सांसदहरूलाई परिमार्जित लोगो, ८७ ग्राम सुन प्रयोग

सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत केही सांसदहरूले नयाँ लोगो लगिसकेका छन् ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक १४ २०७७, शुक्रबार
संघीय संसदका सदस्यहरूका लागि तयार पारिएको परिमार्जित लोगो ।

काठमाडौं, १४ कात्तिक – संघीय सांसदहरूले लगाउने लोगो परिमार्जन गरिएको छ । नेपालको नक्सामा भारतद्वारा अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएपछि संघीय सांसदहरूले लगाउने लोगोमा नयाँ नक्सा प्रयोग गरिएको थियो । साउन अन्तिम साता प्रयोगमा आएको सांसदहरूको लोगो भद्दा देखिएको, लोगोमा प्रयोग भएको नक्सा र रङ नमिलेको तथा लोगोमा लेखिएका अक्षरमा भाषागत अशुद्धता रहेको भन्दै आलोचना भएपछि संघीय संसद सचिवालयले फिर्ता गरेको थियो । लोगो निर्माता घरेलु तथा साना उद्योग कार्यालय, ललितपुरले पहिलेको भद्दा लोगो परिमार्जन गरेर संसद सचिवालयमा पठाएको हो ।
संघीय संसद सचिवालयका अनुसार १७० भन्दा बढी परिमार्जित लोगो घरेलुले पठाइसकेको छ । संघीय संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाका अनुसार सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत केही सांसदहरूले नयाँ लोगो लगिसकेका छन् । ‘परिमार्जन गर्न दिएकामध्ये लोगो निर्माता घरेलु तथा साना उद्योग कार्यालय, ललितपुरले हालसम्म जति परिमार्जन गर्न सकेको हो त्यति आएका छन् । १७० लोगोहरू प्राप्त भएका छन्,’ उनले भने, ‘कतिपय माननीयहरूले परिमार्जित लोगो लगिसक्नुभएको छ । दसैंका कारण जिल्ला जानुभएकाले कमै सांसदहरूले लोगो लग्नुभएको छ । अब सम्पर्कमा आउनुहुने सांसदहरूलाई नयाँ लोगो वितरण गर्छौं ।’  ३ सय ५० थान लोगो तयार पार्न लागिएको र परिमार्जित गर्न बाँकी लोगोहरू पनि तयार भइरहेको जानकारी प्राप्त भएको संघीय संसद सचिवालयका अधिकारीले बताएका छन् । संघीय संसदको लोगोको डिजाइन कलाकार टेकवीर मुखियाले गरेका हुन् । उनले भद्दा लोगो सार्वजनिक भएपछि आपत्ति जनाएका थिए । निर्माता र संसद सचिवालयले हतारमा आफ्नो ‘रफ डिजाइन’लाई नै अन्तिम रूप दिएको भन्दै उनले असन्तुष्टि जनाएका थिए ।
यसअघि वितरण गरिएको विवादित लोगोः

अहिले परिमार्जित लोगो मुखियाको डिजाइनको अन्तिम रूपअनुसारको भएको संघीय संसद सचिवालय र निर्माता कार्यालयले दिएको छ । सांसदको प्रत्येक लोगोमा २ लाल सुन लागेको संसद् सचिवालयले जनाएको छ । ३ सय ५० वटा लोगोमा ८७ ग्राम सुन प्रयोग भएको र त्यसको खर्च ‘६ लाख ८२ हजार रुपैयाँ’ भएको संसद सचिवालयका प्रमुख लेखा नियन्त्रक वसन्तराज सिग्देलले जानकारी दिएका थिए । प्रत्येक लोगोमा १ तोला चाँदीको बेस राखिएको छ । लोगो निर्माण गर्दाखेरि प्रतिलोगो ५ हजार ५ सय २७ रुपैयाँ लागेको थियो । परिमार्जन गर्दाखेरि भने लोगोको खर्च बढेको बताइएको छ । लोगो परिमार्जन गर्दा लाग्ने खर्चबारे त्यतिखेर संघीय संसद सचिवालय र लोगो निर्माता घरेलु तथा साना उद्योग कार्यालय, ललितपुरबीच विवाद भएको थियो । अहिले भने पुरानै खर्चमा लोगो तयार पारिएको दुवै पक्षले बताएको छ ।
संघीय संसद सचिवालयका सहप्रवक्ता धमलाले पहिले विनियोजन गरिएको खर्चमा नै लोगो परिमार्जन गरिएको बताए । ‘लोगो निर्माणका लागि हामीले पहिले नै रकम दिइसकेका थियौं । परिमार्जन गर्दा लागेको रकम संघीय संसद सचिवालयले थप बेहोर्ने भन्ने हुन्न,’ उनले भने । निर्माता घरेलु तथा साना उद्योग कार्यालाय, ललितपुरकी निमित्त प्रमुख उद्योग अधिकृत अम्बिका ज्ञवालीले पनि संघीय संसदले पहिला दिएको बजेटबाट नै परिमार्जनको खर्च बेहोरिएको बताइन् । ‘पहिला बनाउनका लागि जुन बजेट आएको थियो त्यसबाट नै परिमार्जनको खर्च बेहोरिएको हो,’ उनले भनिन् । परिमार्जित लोगोमा नक्सा मिलाइएको तथा झन्डा, भाषा र अन्य त्रुटिहरू पनि सच्याइएको स‌ंसद सचिवालयले बताएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->