लमजुङ, १७ कात्तिक– लमजुङ प्रहरीले अवैध रुपले व्यापार गर्न लागिएको जडिबुटी बरामद गरेको छ । जडिबुटी अवैध रुपले ओसार पसार भएको सुइँको पाएको प्रहरीले मनाङबाट आउँदै गरेको ग १ ज ७५५३ नम्बरको जिपमा चेकजाँच गर्दा जिपमा लुकाएको अवस्थामा १६ किलोग्राम जटामसी, १२४ किलोग्राम बुकी फूल, ५३ किलोग्राम धूपीपात, ९ किलोग्राम सुनपाती र १३ किलाग्राम भोजपत्र बरामद गरेको हो । कर्ण गुरुङले चलाएको गाडीमा मनाङका नार्फु गाउँपालिका–२ का ४५ वर्षीय लाक्पा छिरिङ शेर्पा र नेस्याङ गाउँपालिका–३ का २९ वर्षीया पल्मु लामा लाई पक्राउ गरेको छ ।
यसैगरि प्रहरीले बेसिसहर नगरपालिका–८ बस्ने ४४ वर्षीया शान्ताकुमारी तामाङको घरबाट ५ किलोग्राम पाँच औंले, सोही ठाउँका मीनबहादुर तामाङको घरबाट साढे ३ किलो पाँच औंले, ५३ किलोग्राम निरमसी, १४ किलोग्राम मजिठो, २४१ किलोग्राम पिप्ला, साढे ८ किलो सतुवा, साढे २ किलो जटामसी, १०६ किलो ढाडिङ र ५४ किलोग्राम कुड्की पनि बरामद गरेको छ । यी जडिबुटीको बजार मूल्य करिब १९ लाख ३२ हजार रहेको प्रहरीले जनाएको छ ।





