बागलुङ, १७ कात्तिक– बागलुङ सदरमुकामस्थित एक बैंकका कर्मचारीले स्वाब परीक्षणका लागि दिएर दशै मनाउन चितवन हानिए ।
उनी चितवन पुगेको दोश्रो दिन कोरोना पोजेटिभ देखिएको खबर आयो । त्यसअघि उनले धेरै मनिस भेटे । सँगै चिया खाए । चितवन पुगेर पनि उनले छिमेकी भेट्न भ्याए । जाने बेलामा अन्य साथीसँगै गए । उनी होम आइसोलेसनमा छन् । तर उनको सम्पर्कमा रहेकाहरु बागलुङमा धेरै छन् । उनीहरुको पिसिआर गरिएको छैन । बरु उनीहरु अझै बजारमा डुलीरहेका छन् ।
शंकास्पद व्यक्तिहरु आँपैm सुरक्षित बस्नुपर्नेमा जथाभावी भेटघाटमा हिँडेको थापा पाएर स्थानीय आक्रोसित छन् । नजिकबाट भेटेकाहरुले ती युवाले लापरवाही गरेको बताए । उनको सम्पर्कमा रहेकाहरु कतिपय होम क्वारेन्टाइनमा छन् ।
बागलुङकै जैमिनी नगरपालिका–७ की ४९ वर्षिय महिला पाठेघरको अपरेशनका लागि छोरीज्वाई लिएर अघिल्लोसाता चितवन पुगिन् । चितवन मेडिकल कलेजले उनीहरुको कोरोना परीक्षणका लागि पिसिआर गरायो । अस्पतालमा बिरामीको चाप बढी भएकोले अपरेशनका लागि दशैपछिलाई बोलाईयो ।
चितवनमा बसेर के गर्ने भन्दै स्वाब संकलन भैसकेपछि उनीहरु बागलुङ फर्के । छिमेकी पर्वतको कुश्मामा झरेर घर जाँदै गर्दा मेडिकल कलेजबाट फोन आयो । उनीहरु दुवैजनालाई कोरोना पोजेटिभ देखिएको छ । अटोमा पोखरा बसपार्कसम्म आएका उनीहरु जिप चढेर बागलुङ हिँडेका थिए । जिपमा अन्य ३ जना सवार थिए । उनीहरु कता गए, कुन जिप थियो भन्ने समेत थाहा नपाएका उनीहरु अहिले गाउँ पुगेका छन् ।
पोजेटिभ आएको थाहा पाएपछि जैमिनी नगरपालिकाका जनप्रतिनिधिले स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेलाई खबर गरे । घिमिरेले जिल्ला अस्पतालको बेड खाली नभएकोले नगरपालिकाको आइसोलेसनमा राख्ने व्यवस्थापन गराए । ‘लक्षण नभएकोले अस्पतालमा नल्याउनु, समस्या भयो भने एम्बुलेन्स पठाउँछौं भनेका छौं’ घिमिरेले भने, ‘स्वाब दिएपछि रिपोर्ट नआउन्जेल क्वारेन्टाइन बस्नुपर्ने मान्यता तोडिंदा जोखिम बढेको छ ।’
जैमिनीका जस्तै यहाँका धेरै मानिसले स्वाब दिएर जथाभावी हिड्दा जोखिम बढेको छ । बागलुङमा मात्रै ६ सयजना संक्रमित छन् । तीमध्ये २ सयजना सक्रिय संक्रमित आइसोलेसनमा छन् । स्वाब दिएर बाहिर हिडेकोले कन्ट्रयाक्ट ट्रेसिङमा धेरै मानिस परेको र पहिचान गर्न कठिन भएको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले बताए ।
सक्रिय संक्रमितमध्ये एकसय बढी सेना र प्रहरीका छन् । उनीहरुको कन्ट्याक्टमा परेका माथिल्लो दर्जाका अधिकृतले स्वाब दिनसमेत नमानेको स्वास्थ्यकर्मीहरुले बताए । ‘कोही होम क्वारेन्टाइन भन्दै बसेका छन्, कतिपय बिहान–बेलुकी बजारमा डुलीरहेको भेटियो’ गुरौले भने, ‘स्वाब दिएको र बाहिरबाट आएको मानिसको पहिचान गर्न जिल्ला कमाण्ड पोष्टको बैठकले वडा तहमा अनुगमन समिति बनाउन निर्णय गरेका छौं ।’ यस्तो निर्णयले मात्रै सर्तकता बढाउने उनले बताए ।
बागलुङका संक्रमितमध्ये सदरमुकाममा मात्रै २ सय ६५ जना पुगेका छन् । तीमध्ये १ सय २९ जना अझै सक्रिय संक्रमित छन् । यहाँको धौलागिरी अस्पताल, धौलागिरी बहुमुखी क्यामम्पस तथा रात्माटा र रामरेखा आइसोलेसन भरिभराउ भएका छन् । ‘संक्रमित थपिंदा राख्ने ठाउँ समेत अभाव छ’ अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले भने, ‘लक्षण नदेखिएका संक्रमितलाई घरभित्रै सुरक्षित बस्ने व्यवस्था गराउनुपर्ने भैसकेको छ ।’ स्वाब दिएपछि बाहिर डुल्नेबाट परिवारमा संक्रमण बढ्ने खतरा बढेको उनले बताए ।
अहिलेसम्म बागलुङका ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बागलुङ उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष ७५ वर्षियको काठमाण्डौमा, एक सशष्त्र प्रहरी र ७६ वर्षिय वृद्धको पोखरामा र एक युवाको भारतमा उपचार संभव नभएर फर्केपछि गाउ“मै मृत्यु भएको हो । धौलागिरी अस्पतालमा जडान गरिएका ३ वटा आइसियुमा उपकरण र दक्ष जनशक्ती अभावले संचालनमा आउन सकेको छैन ।





