म्याग्दी, २० कात्तिक– जिल्लाको मंगला गाउँपालिकामा बन्दाबन्दी (लकडाउन) गरिएको छ । समुदायमा कोरोना संक्रमण दर बढ्न थालेपछि बन्दाबन्दीको घोषणा गरिएको हो । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षतामा बिहीबार बसेको बैठकले सरोकारवालाहरुको सुझावको आधारमा कोरोना फैलिन नदिन २० कात्तिक राति १२ बजेदेखि १ मंसिर राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । छिमेकी बेनी नगरपालिका र मालिका गाउँपालिकाले सेवा तथा बजार बन्द गरेपछि मंगलाको केन्द्र बाबियाचौरका बैंक, बित्तिय र सहकारी संस्थाका साथै कार्यालयमा हुने भीड र आवतजावतले कोरोना भाइरसको संक्रमण बढ्ने आँकलन गरिएको छ ।
गाउँपालिका र वडा कार्यालय, शैक्षिक संस्था, बैंक, बित्तिय र सहकारी संस्थाको अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले जानकारी दिए । खाद्यान्न, तरकारीका पसल र व्यवसायहरु बिहान ७ देखि १० बजेसम्म खोल्ने दिइएको छ ।





