पोखरा, २५ कात्तिक– कोरोनाविरुद्ध बन्दै गरेको भ्याक्सिनले ९० प्रतिशत विरामी बचाउने कम्पनीहरुले दावी गरेका छन् । अमेरिकी फर्मास्युटिकल कम्पनी फाइजर र जर्मनीको बायोएनटेक नामक कम्पनीले संयुक्त रुपमा विकास गरेको खोपले ९० प्रतिशतभन्दा बढीलाई कोभिड–१९ लाग्नबाट जोगाउने कम्पनीको दावी रहेको छ ।
अन्तिम चरणको परीक्षणको प्रारम्भिक नतिजा सार्वजनिक गर्दै यी कम्पनीले आफ्नो खोप भरपर्दो भएको बताएका हुन् । हाल करिब एक दर्जन खोप अन्तिम चरणको परीक्षणमा छन् । यो खोपको दुई डोज तीन हप्ताको अन्तरमा लगाउनुपर्ने ती कम्पनीले जनाएका छन् । दोस्रो खोप लगाएको एक सातापछि यसले कोरोना संक्रमण हुन नदिने कम्पनीको भनाइ छ ।
खोपको प्रभावकारिता ९० प्रतिशत रहेको उनीहरुको भनाइ छ ।
यी कम्पनीको खोप ६ मुलुकका ४३ हजार ५ सय मानिसमा परीक्षण गरिएको छ । तीमध्ये कोरोना संक्रमित भएका ९४ जनाको तथ्यांक अध्ययन गरिएको थियो । खोपको आपतकालीन पयोग अनुमतिका लागि यही महिनाको अन्त्यमा आवेदन दिने ती कम्पनीले जनाएका छन् । यी कम्पनीले २०२० को अन्त्यसम्ममा ५ करोड डोज खोप उपलब्ध गराउन सक्ने दाबी पनि गरेका छन् ।





