
बागलुङ, २७ कात्तिक– दुर्घटनाका घाइते र बिरामीहरु स्वास्थ्य चौकीमा उपचारकालागि आएपछि प्रमुखको खोजी गर्छन् । स्वास्थ्य चौकी प्रमुख शान्ति पुनले परिचय दिएपनि बिरामीले पत्याउँदैनन् ।
हरेक बिरामीले पुरुष स्वास्थ्यकर्मी खोजी गर्ने पुनले बताइन् । ‘म हुँ प्रमुख, भन्नुहोस् तपाईको समस्या के छ भन्दा सुनेनसुनेझै गर्छन्’ पुनले भनिन्, ‘महिला भएर उपचार गर्न सक्दैनन्, संस्थाको नेतृत्व गर्न सक्दैनन् भन्ने भावना धेरेको देखिन्छ ।’ एक बर्षदेखि ढोरपाटन नगरपालिका वडा नं. ५ अधिकारीचौरको स्वास्थ्य चौकी महिला कर्मचारी मात्रैले चलाएका छन् ।
यो स्वास्थ्य चौकीमा इन्चार्ज हेल्थ असिस्टेन्ट शान्ति पुन छिन् । अहेब गीता घर्ती मगर र योजना पुन तथा अनमी बिष्णु सापकोटा छन् । महिला मात्र देखेर धेरै पुरुष बिरामीले समस्या बताउन खोज्दैनन् । तर धेरै समस्या लिएर आउने महिला छन् । उनीहरुकोलाग यो स्वास्थ्यचौकी सहज बनेको छ ।
महिला बिरामीले खुलेर समस्याको कुरा गर्छन् । यहाँ धेरै महिला बिरामीनै आउने गर्छन् । ‘बाल बिबाहको कारण सानैमा बच्चा पाएकाले धेरै बिरामी भएका हरु छन्’ पुनले भनिन्, ‘उपचारमा आएकाहरुले महिला मात्रै देखेपछि समस्या बताउन खुसी मान्छन् ।’ पुरुष बिरामीले भने सामान्य कुराकानीपछि फर्कने बाहना बनाउन थालेको उनले बताइन् । मासिक ४ सय जनाले यहाँ सेवा लिंदै आएका छन् ।
यो स्वास्थ्य चौकी बर्थिङ सेन्टर पनि हो । त्यसैले घरघरमा जोखिम मोल्नेहरु स्वास्थ्य चौकी आउन थालेका छन् । ‘केही बर्ष अघि सम्म स्वास्थ्य संस्थामा सुत्केरी हुने शुन्य थिए, अहिले बढेका छन्’ पुनले भनिन्, ‘घरपरिवारको समस्या पनि स्वास्थ्य चौकीमा आएर बताउन थालेका छन् ।’ कतिपय समस्यामा सहजीकरण गरिदिएको उनले बताइन् । यहाँ आएर गत आर्थिक बर्ष मात्रै २७ जना महिला सुत्केरी भएका थिए । स्वास्थ्य चौकीले क्षयरोग लागेकालाई प्रत्यक्ष निगरानीमा औषधि खुवाउने डट्स कार्यक्रम पनि चलाएको छ ।
यहाँ बाल बिबाह धेरै हुने गथ्र्यो । ‘केही बर्ष अघिसम्म त अत्याधिक समस्या थियो, अहिले केही कम भएको छ’ स्थानीय शिक्षक केशब सापकोटाले भने, ‘बिद्यालय जाने क्रम पनि बढेकोले बिबाह गर्ने उमेर बढेको छ ।’ केही बर्षदेखि अभिभावकले छोरीलाईपनि पढाउने अभियान चलाएकोले बाल बिबाह घटेको उनले बताए । दशक अघि सम्म कक्षा कोठामा बालिका न्युन हुने गरेकोमा अहिले बढेको उनले अनुभव सुनाए ।
यहाँको कार्यालय सहयोगीपनि महिला छन् । सबै महिला मात्रै भएकोले काम गर्नपनि उत्तिकै सजिलो भएको अहेव गीता घर्ती मगरले बताइन् । महिलाहरुलेनै मासिक खोप कार्यक्रमपनि चलाएका छन् । महिला भएकै कारण सुत्केरी, गर्भवती र यौन सम्बन्धी समस्या परेका महिलाले पनि सहजै सुबिधा पाएका छन् । ‘पुरुषको तुलनामा महिलाका धेरै समस्या हुन्छन्, त्यसैले सेवा लिन पनि आउनुहुन्छ’ अनमी बिष्णु सापकोटाले भनिन्, ‘महिलाको टिम देखेपछि उपचारकालागिपनि तयार हुन्छन् ।’ पुरुष स्वास्थ्यकर्मीलाई समस्या नभन्नेले यौन समस्या लिएर आएपनि पेट दुखेको बाहना बनाउने गरेको उनकै अनुभव छ । उनीहरुको सक्रियताबाट नगरस्वास्थ्य प्रमुख घनश्याम चालिसेपनि खुसी छन् । ‘महिला मात्र भएकोले मिलेर काम गर्नु भएको छ, समस्या पनि छैन’ चालिसेले भने, ‘महिलाका समस्यापनि धेरै समाधान भएका छन् ।’ स्वास्थ्य संस्थामा महिलाकर्मीको उपस्थितिले धेरै पिडित महिलाले उपचार पाउने गरेको उनले बताए । नर्स, अनमी र अन्य स्वास्थ्यकर्मीकालागि महिलाहरुको आर्कषण समेत बढेको छ । उनीहरको सक्रियता देखेर नगरपालिकाकी उपप्रमुख करमती पुनपनि खुसी छिन् । न्यायिक समितिमा आउनेले पनि स्वास्थ्य चौकीबाट सल्लाह मागेको बताउने गरेको पुनले बताइन् ।





