काठमाडौं, ३ मंसिर -आफूमाथि गम्भीर आरोपसहित नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सचिवालयमा राजनीतिक प्रस्ताव पेश गरेपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि जावफी प्रस्ताव पेश गर्ने भएका छन् । बुधबार दिउँसो बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकमा ओलीले आफूले पनि प्रस्ताव पेश गर्ने जानकारी दिएका थिए ।
अध्यक्ष ओलीलेसमेत सचिवालयमा छुट्टै प्रस्ताव पेश गर्ने जानकारी दिएपछि १० दिनसम्म बैठक स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । श्रेष्ठका अनुसार मंसिर १३ मा बस्ने बैठकमा ओलीको प्रस्तावसहित यसअघि सचिवालयमा पेश भएको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव र अन्य पत्रहरुबारे छलफल हुने भएको छ । कात्तिक २८ को सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुहमत सदस्यको समर्थनमा १९ पेज लामो प्रस्ताव पेश गरेका थिए ।
प्रस्तावमा पार्टी र सरकार सञ्चालनमा ओली असफल रहेको दाबीसहित निकासका लागि उनले त्याग गर्न माग गरेका छन् । प्रचण्डले एकलौटी ढंगले गम्भीर आरोपसहित प्रस्ताव पेश गरेको भन्दै ओलीले उक्त प्रस्ताव फिर्ता लिन अडान राखेका थिए । तर, प्रचण्ड प्रस्ताव फिर्ता लिन तयार नभएपछि ओलीले पनि आफ्नो काउन्टर प्रस्ताव सचिवालयमा पेश गर्ने भएका हुन् ।
प्रचण्डको प्रस्तावलाई ओलीसमूहले आरोपपत्रको रुपमा लिएको छ । ओलीले मंगलबार साँझसम्म प्रचण्डले पेश गरेको प्रस्ताव फिर्ता लिन र बुधबारका लागि तय भएको सचिवालय बैठक सार्न आग्रह गरेका थिए । तर, बैठक सार्न र प्रस्ताव फिर्ता लिन प्रचण्ड–नेपाल समूह तयार नभएपछि ओलीमाथि दबाब परेको थियो ।
दाहालले पेश गरेको प्रस्तावमा ओलीको राष्ट्रवाद नक्कली भएको, यति होल्डिङ्सदेखि ओम्नी समूहसम्म साँठगाँठ गरेको, बजेटअघि राजस्वको दर रेट सम्बन्धी सूचना चुहाएको, एमसीसीमा पार्टीलाई ढाँटेको, समकक्षी नेताहरूलाई विभिन्न लोभ, प्रलोभन देखाउने गरेको, व्यक्तिवादी प्रवृत्ति हावी भएको, संघीयता विरोधी गतिविधि गरेको, पार्टी विभाजनको कोसिस गरेको आरोप लगाएका छन् ।
पार्टी स्थायी कमिटीले गरेका निर्णय कार्यान्वयन नहुनुमा प्रधानमन्त्रीसमेत रहेका ओली नै जिम्मेवार रहेको तथा पार्टी र सरकारलाई विधिसम्मत सञ्चालनको निर्णयको अवज्ञा गरेको पनि प्रस्तावमा आरोप छ । तर, यसलाई ओली समूहले भने अस्वीकार गरेको छ । सचिवालय बैठकले १८ गते स्थायी कमिटी र २५ गतेदेखि केन्द्रीय समिति बैठक गर्ने निर्णय गरेको छ ।





