बागलुङ, ७ मंसिर– बागलुङका ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच बढाउने र सामाग्रीले मजबुद बनाउने अभियान पछिल्लो तीन बर्षमा बढ्दो दरमा देखिएको एक कार्यक्रमका सहभागिले बताएका छन् ।
बागलुङ स्थित भीमापोखरा युवा क्लबले फियरमेड फाउण्डेसनको सहकार्यमा संचालन गरेको ग्रामीण स्वास्थ्य सुधार परियोजनाले तीन बर्षमै परिवर्तन ल्याएको उनीहरुको भनाइ थियो । परियोजना अन्र्तगत बागलुङको ढोरपाटन र गलकोट नगरपालिका, निसीखोला, तमानखोला, बडिगाड र बरेङ गाउँपालिकामा स्वास्थ्य सुधारको कार्यक्रम संचालित छ । परियोजनाले स्वास्थ्य संस्थाको क्षमता बिकास, गर्भवती र अन्य उपेक्षित रोग लागेका व्यक्तिको उपचारमा सहयोग गर्ने काममा अगुवाइ गरेको परियोजना व्यवस्थापक गणेश बरुवालले बताए ।
मातृशिशु कार्यक्रम, बर्थिङ सेन्टर निर्माण र ती सेन्टरमा आबस्यक पर्ने उपकरण र सामाग्री समेत सहयोग गर्ने काममा फेयरमेडले सहयोग गरेको हो । बर्थिङ सेन्टरमा तापक्रम कक्ष निर्माण समेत भएपछि घरमा डेलिभरी हुने क्रम समेत रोकिएको उनले दाबी गरे । परियोजनाको बार्षिक समीक्षा कार्यक्रम आइतवार बागलुङमा सम्पन्न भएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाले गैरसरकारी संस्थाहरुले डलरको खेती मात्रै गरेको खण्डमा जिल्लामा काम गर्न नदिने बताए । उनले बिवाइसी र फेयरमेडले गरेको क्रियाकलाप प्रत्यक्ष नागरिकको स्वास्थ्यसँग जोडिएर गरेकोले ग्रामीण क्ष्ोत्रमा राहत महसुस भएको बताए । उनले जिल्लाका सबै पालिकामा यो अभियान चल्नुपर्ने आबस्यकता पनि औल्याए ।
प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जनचेतना बढेकोले सुरक्षित स्थानमा सुत्केरी बन्ने अबस्था आएको पनि बताए । तरपनि अझै जागरणको अभियान चलाउन सुझाव समेत दिए । बिवाइसी बागलुङका अध्यक्ष मणीभद्र शर्माको अध्यक्षता, उपाध्यक्ष तोया गौतमको स्वागत र बेदप्रकाश शर्माको संचालनमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष, स्वास्थ्य कार्यालय बागलुङका तथ्यांक अधिकृत घनश्याम सापकोटा र धौलागिरी अस्पताल बिकास समितिका सदस्य शालिकराम शर्मा लगायतले बोलेका थिए ।





