काठमाण्डौ, १४ मंसिर– चिनियाँ रक्षामन्त्री बेइ फेङ्हे नेपाल आइपुगेका छन् । उनी विशेष विमान मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका छन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गृहमन्त्री रामबहादुर थापा बादलले स्वागत गरे ।
२१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट काठमाडौँ अवतरण गरेका बेइले नेपालमा ८ घण्टा समय बिताउने छन् । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन् ।
त्यस्तै प्रधान सेनापति पूर्णचन्द्र थापाले पनि द्विपक्षीय भेटवार्ता गर्नेछन् । उनी आजै साँझ स्वदेश फर्किने कार्यतालिका छ । नेपालको उत्तरी छिमेकी चीनबाट यस वर्ष हुन लागेको यो पहिलो उच्च स्तरीय भ्रमण हो । यो भ्रमणले नेपाल र चीनबीचको सुरक्षा सम्बन्ध अझ सुदृढ भई द्विपक्षीय सैन्य सहायता अभिवृद्धिमा फलदायी हुने अपेक्षा गरिएको छ । गत वर्ष चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको दुई दिने भ्रमण गरेका थिए ।





