बागलुङ, १५ मंसिर– बागलुङका चार गाउँपालिकामा सोमबार अस्पताल शिलान्यास भएका छन् । ताराखोला र बरेङ गाउँपालिकामा ५ शैया, निसीखोलामा १० शैया र बडिगाड गाउँपालिकामा १५ शैयाको अस्पताल शिलान्यास भएको हो ।
चालु बर्षकालागि १ करोड बजेट संघिय सरकारबाट बिनियोजित छ । उक्त बजेटले गाउँपालिकाले तयार गरेको साँढे ९ रोपनी जमिनमा अस्पताल बनाइने गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले बताए ।
सोमबारै निसीखोला गाउँपालिकामा पनि अस्पताल शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले अस्पतालको शिलान्यास गरे । उनले भूगोलले टाढा र चेतनाले कमी भएको पालिकामा पनि अस्पताल खोल्न पाएको बताए । यो अस्पतालले ग्रामीण जनताको स्वास्थ्य सुधारमा सहयोग पुग्ने धारणा राखे । सोमबारै ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्ती र बरेङका अध्यक्ष कृष्णप्रसाद शर्माले पनि अस्पताल शिलान्यास गरेका थिए ।
सोमबारै निसीखोला, बडिगाड र बरेङमा कोरोना अस्थायी अस्पतालको उद्घाटन समेत भएको छ । तीनै स्थानमा ५ बेडको कोरोना अस्थायी अस्पताल संचालनमा आएको हो । ताराखोलाले बहुउद्देश्यीय सभाहलमै केही समय अघिदेखिनै अस्पताल संचालन गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताए । बागलुङकै तमानखोला गाउँपालिकाले आगामी २२ गते भवन शिलान्यास कार्यक्रम राखेको अध्यक्ष जोकलाल बुढाले बताए । बागलुङ नगरपालिकामा भने मुलपानी वा पैयुँपाटामा कता बनाउने भन्ने बिबाद भएपछि काम रोकिएको छ । देशभर सुरु भएका अस्पतालले जनताको स्वास्थ्यमा सुधार आउने स्थानीयले विश्वास गरेका छन् ।
अस्पताल शिलान्यास हुने कुरालाई राम्रो मानेपनि सदुपयोग र निरन्तर सेवा महत्वपूर्ण हुने भन्दै कतिपयले गुणस्तरीय सेवामा जोड दिएका छन् । महिला अधिकारकर्मी शकुन्तला शर्माले भवन मात्रै बन्नु भन्दा गुणस्तरीय सेवा जनताले पाउनु ठूलो कुरा भएको बताइन् । ‘भएका स्वास्थ्य चौकीको समानान्तर अस्पताल नबनोस्, सेवा प्रवाह चुस्त बनोस्’ उनले भनिन्, ‘गाउँगाउँका जनताले सेवा पाउने कुरा महत्वपूर्ण हो ।’ भौतिक पूर्वाधारमा धेरै खर्चने भन्दा जनशक्ती उत्पादन र व्यवस्थापनमा लागउन पनि उनले सुझाव दिइन् ।
स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले हरेक पालिकामा एकएकजना डाक्टर सहितको स्वास्थ्य सेवा दिने अभियानको थालनी भएको बताए । उने धौलागिरी अस्पताललाई बिज्ञ अस्पतालमा बिकास गरेर गाउँमा एमबिबिएस सेवा दिने योजना अनुसारको अस्पताल आएको बताए ।





