काठमाडौं, १६ मंसिर – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सम्पन्न भएको छ । मंगलबार दिउँसो १ बजे सुरु भएको बैठक साँझ ४ बजे सकिएको हो । आजको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको छ । अध्यक्ष ओलीले मंसिर १३ गतेको सचिवालय बैठकमा ३८ पृष्ठको ५३ बुँदे प्रतिवेदन पेश गरेका छन् भने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक २८ गतेको सचिवालय बैठकमा १९ पृष्ठको राजनीतिक प्रतिवेदन पेश गरेका थिए । मंगलबारको सचिवालय बैठकमा दुवै प्रतिवेदनमाथि छलफल सुरु भएको हो । मंगलबारको सचिवालय बैठकमा अध्यक्ष ओलीले कार्यकारी अध्यक्ष प्रचण्डको प्रतिवेदन र कार्यकारी अध्यक्ष प्रचण्डले अध्यक्ष ओलीको प्रतिवेदनमाथि धारणा राखेका छन् ।
बैठकमा अध्यक्षद्वयसँगै अन्य सचिवालय सदस्यलेसमेत धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । दुवै प्रतिवेदनमाथि थप छलफल आवश्यक भएको भन्दै सचिवालयको अर्को बैठक बुधबार दिउँसो १ बजे पुनः बस्नेगरी सम्पन्न भएको प्रवक्ता श्रेष्ठले बताए । सचिवालय बैठक बुधबारका लागि सरेसँगै नेकपा स्थायी कमिटी बैठक प्रभावित हुने देखिएको छ । यो विषयमा पत्रकारले राखेको जिज्ञासाको जवाफ दिँदै प्रवक्ता श्रेष्ठले पूर्वनिर्धारित सबै बैठक सञ्चालन हुने दाबी गरे ।





